चितवन, बैशाख १३ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा समस्यामा परेकालाई लायन्स क्लबहरुले राहत वितरण जारी राखेका छन्। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा समेत नेपालका लायन्स क्लबहरुले आ–आफ्नो ठाउँबाट सरकारलाई सक्दो सहयोग गरिरहेका जनाएका छन्।
लायन्स क्लबहरुले अस्पताललाई आवश्यक सामान सहयोग गर्ने, यात्रुलाई निःशुल्क खाना, खाजा, पानी वितरण गर्ने, सवारी साधन स्यानिटाइज गर्ने, घरतर्फ हिँडेका मजदुरलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यसम्म पठाउने र असहायलाई खाद्यान्न सहयोग गर्ने गरेको लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिए।
त्यसैगरी सुरक्षाकर्मीलाई सुरक्षा सामग्री सहयोग, औषधि घरघरसम्म पुर्याउने, रगत अभाव भएको ठाउँमा रक्तदान गर्नेजस्ता काम क्लबले गरिरहेको उनले बताए। डिष्ट्रिक्टका चिफ एरिया को–अडिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार भरतपुरको कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वास्थ्य सामग्री, पिपिइ, मास्क, पञ्जा, स्यानिटाइजरसँगै पूर्णरूपमा स्वचालित स्यानिटाइज टनेल पनि उपलब्ध गराएको छ। काठमाडौँमा रहेका लायन्सहरुले मेरुदण्डसम्बन्धी उपचार गराइरहेका बिरामीसँगै अन्यलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण गरिरहेका छन्।

हेटौँडाका लायन्सहरुले ‘हामी छौँ’ भन्ने नाराका साथ १५ दिनदेखि काठमाडौँबाट गन्तव्यसम्म हिँडेका यात्रुलाई खाना, खाजा र पानीको व्यवस्था गरिरहेका छन्। यस्तै बुटवलका लायन्सहरुले बुटवलमा रहेको लुम्बिनी चिकित्सक सङ्घलाई पिपिइ, स्यानिटाइजरसँगै स्वास्थ्य सामग्री वितरण गरिरहेका छन्।
नेपालगञ्जमा रहेका लायन्स क्लबहरुले लायन्स आइसोलेसनकक्ष स्थापना गरेका छन्। उनीहरुले भारतका विभिन्न क्षेत्रबाट आएका यात्रुलाई दशगजा क्षेत्रमा खाना, पानीको व्यवस्था गर्नुका साथै स्वास्थ्य तथा खाद्यान्न सामग्री वितरण गरिरहेको उनले जानकारी दिए। देशभरका लायन्स क्लबहरु फरक–फरक तरिकाबाट कोरोना रोग नियन्त्रणका लागि जुटेको जनाइएको छ।
डिष्ट्रिकका को–चिफ एडभाइजर सिद्धार्थलाल चुके अहिलेको विषम परिस्थितिमा सरकारले मात्र सबै गर्न नसक्ने भएकाले लायन्सहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। उनका अनुसार देशभरका क्लबले कुनै न कुनै तरिकाबाट सघाइरहेका र सेवामा समर्पित गर्नु लायन्स क्लबको उद्देश्य भएको बताए।
सन् १९१७ मा अमेरिकाको सिकागो शहरमा स्थापना भएको लायन्स क्लब इन्टरनेश्नलको हाल विश्वको २१० भन्दा बढी देशमा क्लब स्थापना भएका छन्। जसमा १४ लाखभन्दा बढी सामाजिक अभियान्ता सङ्गठित छन्। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर भट्टका अनुसार सन् १९७१ मा नेपालमा पहिलोपटक लायन्स क्लब स्थापना भएको हो। हाल देशभर एक हजार ३०० भन्दा बढी क्लबका ३३ हजार सदस्य नेपालमा रहेका छन्।
सेवाभावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको भट्टको भनाइ छ। नेपालका चार वटा डिष्ट्रिकमध्ये आफ्नो डिष्ट्रिकभित्रका ३८१ क्लबका नौ हजारभन्दा बढी लायन्स सदस्य र दुई हजारभन्दा बढी लियो सदस्य अभियानमा जुटेको उनले जानकारी दिए। यससँगै देशका अन्य डिष्ट्रिकका २४ हजारभन्दा बढी लायन्सकर्मी यो अभियानमा जुटेको उनको भनाइ छ। वी सर्भ अर्थात् हामी सेवा गर्छौँ भन्ने नाराका साथ पहेँलो ज्याकेट लगाएर विश्वभरका लायन्सकर्मी सेवामा जुटिरहेका छन्। रासस


























