चितवन, बैशाख १३ । कोरोना भाइरसको जोखिमलाई रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई धुर्मुस–सुन्तली फाउण्डेशनले सहयोग गर्दै आएको छ। शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गरेको सहयोगबारे जानकारी गराउँदै फाउण्डेशनले राहत सामग्री वितरणदेखि अलपत्र परेका मजदुर र विद्यार्थीको उद्धार गरेको जानकारी गराएको हो। हाँस्यकलाकारिता क्षेत्रबाट नाम कमाएका धुर्मुस–सुन्तलीले २०७२ सालको बैहाख १२ गते गएको विनाशकारी भूकम्पमा पनि बस्ती निर्माण गरेर चर्चा कमाएका थिए।
त्यसपछि निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। हाल चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माण भइरहेको छ। लकडाउनका कारण निर्माण कार्य रोकिए पनि आफूहरुको सामाजिक कार्य भने नरोकिएको फाउण्डेशनले जनाएको छ। फाउण्डेशनले कोरोनाबाट आफू बचेर अरुलाई बचाउन पनि आग्रह गरेको छ।
फाउण्डेशनको फेसबुक स्टाटसः
विश्वभर महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९)बाट बच्न सरकारले गरेको लकडाउनको समयमा पीडामा रहनुभएका नेपालीहरुका लागि धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत विभिन्न राहत सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरिरहेका छौं। तपाईँको नजिक, तपाईँले देख्नुभएको र थाहा पाउनुभएको कोही भोकै बसिरहनुभएको छ र पीडामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गरी जानकारी गराइदिनुहोला। हामी पीडित पहिचान गरी सहयोग गर्ने बाचा गर्दछौं। हालसम्म गरिएको सहयोगको विवरण यसप्रकार छः
१) मिति २०७७ बैशाख ९ गते, किर्तिपुरस्थित रहेको त्रिभुवन विश्व विद्यालयमा अध्यतरत २०० जना विद्यार्थीहरुका लागि २०० बोरा चमल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल, २०० कार्टुन बिस्कुट सहयोग,
२) बैशाख ९ गते नै, चितवन जिल्ला घर भई झापा अर्जुनधारामा अध्यनरत २४ जना अलपत्र विद्यार्थीहरुलाई २ वटा माईक्रो रिर्जभ गरी झापाबाट चितवन ल्याइएको।
३) बैशाख ९ गते नै साँझ, ललितपुरमा अलपत्र अवस्थामा रहनुभएका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी गृहजिल्ला दाङ पठाइएको।
४) बैशाख १० गते, विभिन्न जिल्लाबाट काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थायी बसोवास गरिरहनुभएका विपन्न, गरिब, मुटु रोगी, मृगौला रोगी, दमका बिरामी, ज्याला मजदुरी गरी गुजारा गर्दै आएका मजदुरहरु, असहाय, अशक्त, तथा विद्यार्थी गरी ४३ परिवारलाई उहाँहरु रहनुभएकै ठाउँमा पुगी उहाँहरुको स्थितिअनुसार जम्मा १ लाख ३५ हजार रुपैयाँ नगद सहयोग।
५) बैशाख ११ गते, काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थायी बसोवास गरिरहनुभएका विपन्न, गरिब, दृष्टिविहीन, अपाङ्ग, तथा पीडामा रहनुभएका आमाहरुका लागि जम्मा १ लाख ८ हजार आर्थिक सहयोग।
यो महामारीको बेला हामी सबैले पीडामा रहनुभएका पीडितहरुको पहिचान गरी मानविय धर्म निर्वाह गरिदिनुहोला। तपाईँको सानो सहयोगले कसैको ठूला पीडा भुलाउन सक्छ। ‘कोरानाबाट आफू पनि बचौं, अरुलाई पनि बचाउँ।’


























