विनाेद अनुज,
चितवन, बैशाख ११ । आज सबै छोराछोरीहरुले आफ्नी आमालाई विशेष तरिकाले सम्झिने दिन। बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्ताभरी आमाको तस्बिर रंगिन बनेको छ।
यतिबेला देश लकडाउनमा छ। लकडाउनका कारण केही आमा र छोराछोरीबीचको सामाजिक दूरी टाढिएको छ। जसले गर्दा सँगै भएकाले आमासँगै खिचाएको तस्बिर सार्वजनिक गरेर शुभकामना दिएका छन् भने परिस्थितिले टाढा भएकाहरुले पनि आमाको तस्बिर राखेर मातातीर्थ औंसीको शुभकामना दिएका छन्।
हामी नेपालीका लागि आमाप्रतिको श्रद्धा व्यक्त गर्ने विशेष दिन भएकोले पनि अन्य दिनको तुलनामा यो दिन विशेष बन्ने गर्दछन्। आफ्नी आमा नहुनेले पनि मातातीर्थ कुण्डमा गएर आमाको नाममा पूजा गरेर मिठाई तथा फलफूल चढाउने गर्दछन्। तर, योवर्ष लकडाउनका कारण त्यति सहज त छैन, तैपनि ज्यूँदो भगवानरुपी जन्मदाता आमाप्रतिको सम्मानमा कसले पो छेक्न सक्छ र ?
बिहानै नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल (जो भरतपुर महानगरपालिकाकी मेयर छिन्।)ले आफ्नो फेसबुक वालमा आफ्नी आमासँग टीका लगाइरहेको तस्बिर सार्वजनिक गर्दै लेखिन्, “ह्याप्पी मदर्स डे मम्मी, आजको दिनमा तपाईँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछु।”

अरु बेला काममा जनताकै सेवामा तल्लीन रहने उनले आज थोरै समय निकालेरै भए पनि आमासहित खिचेको तस्बिर सार्वजनिक गरेकी हुन्। त्यसो त उनी सामाजिक सञ्जालबाट खासै टाढा रहने व्यक्ति पनि होइनन्। फुर्सद पाउँदा देशको सामाजिक तथा राजनैतिक अवस्था नियालिरहन्छिन्।
काँग्रेस नेता प्रकाशमान सिंहको पनि फेसबुक स्टाटसमार्फत् जन्म दिने आमा र नेपाल आमालाई सम्झिएका छन्। आजैका दिन परेको लोकतन्त्र दिवसको सन्दर्भलाई जोड्दै ‘नागरिक सर्वोच्चता कायम भएको दिन’ भनेका छन्। आफ्नो पोष्टमा उनले भनेका छन् – “… मलाई जन्म दिने मेरी आमा मंगलादेवी सिंहकाे सपना पूरा गर्न प्रतिवद्ध रहने प्रहण गर्दै जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।”

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नी आमाको सम्झनामा बिहानै सामाजिक सञ्जाल ट्वीटरमा यस्तो पोष्ट गरे –

२४ वर्ष अघी दिवंगत आमाको सम्झना गर्दै ज्ञवाली लेख्छन् – “२४ वर्ष भइसकेछ आमा, तपाइँले छाडेर गएको पनि। तैपनि, तपाइँ यतै कतै हुनुहुन्छ कि झैं लाग्छ। थाहा छ, यो भ्रम मात्रै हो। र पनि, कतिपय भ्रमहरूले सान्त्वनाको बेग्लै अनुभूति दिँदारहेछन् – सपनाहरूले जस्तै।”
भारतका लागि नेपालका राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेता निलाम्बर आचार्यले पनि ट्वीटरमार्फत् समग्र आमाहरूको सम्बोधन यसरी गरे –

आफ्नो पोष्टमा उनले पृथ्वी मातालाई पनि सम्बोधन गरेका छन्। लेख्छन् – “….. मातृभूमिलाई नमन। ममतामयी पृथ्वीलाई नमन।”
त्यस्तै कवि तथा उपन्यासकार भूपिनले पनि बिहानै आफ्नी आमाको चरण स्पर्श गरेको तस्बिर राखेर आमालाई सम्झिएका छन् –

नायिका केकी अधिकारीको स्टाटस पनि चाखलाख्दो छ। “संसार नै ल्याएर अगाडि राखिदिए पनि आमाले दिएको देनको अगाडि एक छेउ नि हुन्न।” आमाको देनको बदलामा केही दिन नसके पनि पल्लो कोठामा बसेकी आमालाई उनले चिट्ठी लेखेर भावना व्यक्त गरेकी छिन्। ट्वीटरमा लेखिएको यो पोस्टमा आमालाई लेखिएको चिट्ठीको तस्बिर राखिएको छ र लेखिएको छ – “लेख्ने बानी छुटेर अक्षर त भसक्कै भैएछ, बुझ्नु भएन भने सोध्नु, म पल्लो कोठा मै छु आमा।”

यो प्रतिनिधी दृश्य मात्रै हो। थुप्रै पोष्टहरू छन् सामाजिक सञ्जालमा आमालाई सम्झिएका, आमाप्रति श्रद्धा प्रकट गरिएका। सञ्जालमा पोष्ट गरेर मात्रै आमा प्रतिको श्रद्धा प्रकट भयो भन्न खोजिएको चाहिँ पक्कै होइन। सञ्जालको पहुँच नभएका वा भएर पनि पोष्ट गर्न नचाहने थुप्रै विश्वभर छरिएर रहेका हिन्दू समुदायका मानिसहरूले आ-आफ्ना आमालाई श्रद्धा प्रकट गरिरहेका छन्। चाहे साथमा नै रहेर होस् वा टाढा रहेर होस्। वा सम्झनामा मात्रै बसेका आमाहरूको स्मृति ताजा बनाएर होस्।
सम्पूर्ण आमाहरूमा नमन, श्रद्धा।


























