काठमाडौं, बैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओली आफैले ल्याएको अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन्।
बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन्। आज (बिहीबार) बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्।
संविधानको धारा ११४ को उपधारा २ ’ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिनेबारे छलफल गरेको स्रोतले जानकारी दिएको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए। अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भई निर्वाचन आयोगमा दल दर्ता समेत भइसकेको छ।


























