चितवन, बैशाख ८ । नेपाल प्रेस युनियन चितवन शाखाले लकडाउनका कारण समस्यामा परेका पत्रकारहरूलाई सहयोग गर्ने उद्देश्यले ३ लाख रूपैयाँ बराबरको ‘पत्रकार राहत कोष’ स्थापना गरेको छ। कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै आन्तरिक कोषबाट रकम व्यवस्थापन गरी राहत कोषमा जम्मा गरेको युनियनले जनाएको छ। आज दिउँसो बसेको ‘अनलाइन बैठक’ले उक्त निर्णय गरेको हो। लकडाउनका कारण खान बस्नको लागि समस्यामा परेका जुनसुकै पत्रकारको लागि राहत उपलब्ध गराउने गरी कोषको स्थापना गरिएको अध्यक्ष अनिल ढकालले जानकारी दिए। समस्यमा परेका पत्रकारले युनियन चितवनका पदाधिकारीलाई जानकारी गराउन सक्नेछन्।
‘पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौँ’, उनले भने, ‘समस्या छन् भने खबर गर्नु, आवश्यक पहल गरिनेछ।’ सहयोग लिने पत्रकारको विवरण गोप्य राखिने भएकाले समस्याबारे जानकारी दिन उनले आग्रह गरे। साथै पत्रकारहरूलाई अतिआवश्यक समाचार संकलनको लागि मात्रै बाहिर निस्कन सम्पूर्ण पत्रकारहरूलाई अनुरोध गरे। ‘सकेसम्म प्रविधिको सहयोग लिएर रिर्पोटिङ गरौँ, जानै परे पनि उच्च सावधानीसहित फिल्डमा जाउँ’, उनले भने। यस्तो समयमा आफू आवद्ध मिडिया हाउसले पनि आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराइदिनुपर्ने उनको भनाइ छ।

सोही बैठकले अध्यक्ष ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल समेत गठन गरेको छ। कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी र केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष बसन्त पराजुली पनि छन्। कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्यमा ‘पत्रकार सहयोग समिति’ गठन गरेको छ। उक्त समितिको सदस्यमा सुशील पन्त र हरि पौडेल रहेका छन्। कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा गठित ‘राहत कोष अभिवृद्धि समिति’मा भने सचिव प्रस्ताव सुवेदी र सह–सचिव आशा खरेल रहेका छन्।
युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारलाई समयमै तलब दिनसमेत सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्। ‘यो संकटको बेला हो, सकेसम्म तलब लिन विलम्व नगरौँ’, उनले भने, ‘पत्रकारको सुरक्षामा चासो दिनुपर्छ, आवश्यक सुरक्षा सामाग्री विना फिल्डमा नपठाउँ।’ सचिव प्रस्ताव सुवेदीले जिल्लाभित्र समस्यामा परेका पत्रकारको मूल्यांकन गरी आवश्यक सहयोग दिने गरी तथ्यांक लिने कामसमेत शुरु भइसकेको बताए।
यसैबीच प्रेस युनियन चितवनले ‘राहत कोष’मा आर्थिक सहयोग गर्न पनि अपिल गरेको छ। खाद्यान्न तथा सुरक्षा सामाग्रीलगायत आवश्यक परेकोले सहयोग गर्न चाहनेले सम्पर्क गर्न युनियनले आग्रह गरेको हो। अतिआवश्यक रिर्पोटिङमा खटिने पत्रकारलाई आवतजावतमा सहज वातावरण बनाउन समेत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ।


























