बैशाख ८ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहिलेसम्म अमेरिकामा कम्तिमा ४० हजार ६६५ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या पनि सात लाख ५९ हजार भन्दा बढी पुगेको छ।
सबैभन्दा बढी प्रभावित भएको न्यूयोर्क राज्यको राजधानी न्यूयोर्क सिटीमा १४ हजार ४५१ जनाको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ३८ लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण भएको छ।
विश्वभर हालसम्म एक लाख ६५ हजार भन्दा बढीको ज्यान गइसकेको छ। यस्तै विश्वभर संक्रममित हुनेको संख्या पनि २४ लाख भन्दा बढी पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको आइतबारको ब्रिफिङ्गको क्रममा विश्व स्वास्थ्य संगठन, चीन र विश्व व्यापार संगडन (डब्लुटिओ) को आलोचना गरेका छन्। यस्तै उनले इरानलाई कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सहयोग दिने तयारीमा पनि रहेको उल्लेख गरेका छन्।
ट्रम्पका विवादास्पद भनाई र आलोचनाका बिच युरोपबाट भने सकारात्मक खबर आउने क्रम जारी छ। इटाली, स्पेन तथा फ्रान्समा कोभिड–१९ बाट मृत्यु हुने तथा संक्रमण भइ अस्पताल भर्ना हुनेको संख्या लगातार कम हुँदै गएको छ।
इटालीमा आइतबार पछिल्लो एक हप्ता यताकै सबैभन्दा कम व्यक्तिको ज्यान गएको छ। आइतबार कोभिड–१९ बाट इटालीमा ४३३ जनाको ज्यान गएको हो।
आइतबार तीन हजार ४७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन इटालीमा ३४ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो। इटालीमा हालसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ रहेको छ।
यस्तै स्पेनमा पनि आइतबार एक महिना यताकै सबैभन्दा कम व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ। आइतबार स्पेनमा ४१० जनाको ज्यान गएको हो।
आइतबार नयाँ संक्रमितको संख्या पनि मात्रै ४२ सय १८ रहेको जनाइएको छ। स्पेनमा हालसम्म २० हजार ४५३ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या एक लाख ९८ हजार ६७४ रहेको छ।
फ्रान्समा अस्पताल भर्ना गर्नु पर्ने बिरामी निरन्तर पाँचौँ दिन घटेका छन्। आइतबार अस्पतालमा २२७ तथा नर्सिङ्ग होममा १६८ जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा अहिलेसम्म १९ हजार ७४४ जनाको ज्यान गएको छ।
संक्रमितको संख्या एक लाख ५४ हजार ९७ पुगेको छ। आइतबार कोरोना भाइरसको संक्रमण भएका कुल ३० हजार ६१० बिरामी फ्रान्समा अस्पतालमा रहे। यो अघिल्लो दिनको तुलनामा २९ कम हो।


























