चितवन, बैशाख ६ । दुईजनामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि राप्ती नगरपालिका वडा ८ लाई ‘सिल’ गरिएको छ। कोरोना संक्रमण फैलिँन नदिन र उच्च सतर्कर्ता अपनाउन आज वडा सिल गरिएको हो।
नगरपालिकाका प्रमुख प्रभा बरालले राजमार्ग जोडिएको ठाउंँबाट वडा छिर्न निषेध गरिएको बताइन्। “हामीले राजमार्गबाट वडा छिर्ने बाटै बन्द गरेका छौं,” उनले भनिन्, “वडाभन्दा बाहिरकालाई छिर्न दिइँदैन।” उनका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा चौबीसै घण्टा वडाको सीमामा सुरक्षाकर्मी तैनाथ गरिन लागिएको छ।
कोरोना संक्रमितसंँग सम्पर्कमा रहेको व्यक्तिको खोजी कार्य र पुनः र्यापिड टेस्ट परीक्षण गर्न लागिएको उनले जानकारी दिइन्। शुक्रबार चितवनमा एकै परिवारका आमाछोरामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
उनीहरू राप्ती नगरपालिका ८ का हुन्। उनीहरूको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ६३ वर्षीया आमा र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेजमा नेपाल आएका थिए।


























