काठमाडौं, बैशाख ५ । लकडाउनको समयमा डिजिटल ब्यांकिङ कारोबार सबैभन्दा प्रभावकारी र सजिलो माध्यम बनेको छ।
डिजिटल ब्यांकिङ कारोबार गरिरहेका ग्राहकबाट अन्य समयको तुलनामा चासो र रुची उल्लेख्य बढेको नेपाल राष्ट्र ब्यांकले जानकारी दिएको छ। राष्ट्र ब्यांकका अनुसार बन्दाबन्दीपछि डिजिटल ब्यांकिङ कारोबार औषतमा २० प्रतिशतले बढेको छ।
राष्ट्र व्यांकका प्रवक्ता गुणाकर भट्टका अनुसार सर्वसाधारणको सेवाका लागि सबै ब्यांक तथा वित्तीय संस्थालाई सहजीकरणको काम गर्न आग्रह गरिएको छ।
दैनिक ब्यांकिङ कारोबारमा कुनै समस्या र गुनासो आएको अवस्थामा तुरुन्त सम्पर्क गर्न राष्ट्र ब्यांकले सम्बन्धित सरोकारवाला निकायका विभाग प्रमुखलाई जिम्मेवारी दिएको छ।
राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जवाफ दिन र सेवाग्राहीलाई पर्ने समस्या सम्बोधन गर्न विभागिय प्रमुखलाई सिधै सम्पर्क गर्न सक्ने गरी वेबसाइटमा सूचना सार्वजनिक पनि गरेको छ।
भट्टका अनुसार मोबाइल ब्यांकिङ, तथा भुक्तानी प्रणालीमा समस्या भए सहजीकरण गर्ने काम गरिएको छ। ब्यांक तथा वित्तीय संस्थालाई बन्दाबन्दीमा पर्ने समस्यालाई दृष्गित गरेर राष्ट्र ब्यांकले सहजीकरण गरिरहेको पनि उनले बताए।
राष्ट्र ब्यांकका अनुसार अहिले मोबाइल ब्यांकिङ कारोबार गर्ने सेवग्राहीको संख्या ९८ लाख पुगेको छ। यसमध्ये अहिले बन्दाबन्दीका कारण हुने डिजिटल कारोबारमा ३० प्रतिशत मात्रै सक्रिय प्रयोगकर्ता छन्।
यी प्रयोगकर्ताबाट पनि उल्लेख कारोबार भइरहेको छ। यी प्रयोगकर्ता मोबाइल वालेट प्रयोग गर्ने र भुक्तानी प्रणालीको प्रयोग गरेर रकम ट्रान्सफर गर्न सक्ने प्रयोगकर्ता भएकोले पनि अन्य समयको तुलनामा कारोबार रकम भने बढेको उल्लेख छ।


























