– सुरेन्द्र अस्तफल
भोकाहरूले
पटुका कसेर बस्नू
भोको पेटले सारङ्गी
नबजाउनू
चौबाटोमा सामाजिक दूरी कायम गर्नू
भुलेर पनि ख्वामितलाई
नचिढाउनू
एक दुई महिना त हो
पानी खाएरै जीवन बचाउनू
सक्दै नसके
बीस सेकेन्ड साबुन पानीले
हात धोएर
नखोकीकन लामो निश्वास लिनू
लक डाउनको मुहूर्तमा।
सुत्केरी हुनेहरूले
आफ्ना व्यथा केही समय लुकाउनू
घर फुक्न नदिई
बाँधेर राख्नू मनको तुनाले
सक्दै नसके
ओछ्यानमा नै सही
साबुनपानीले बीस सेकेन्ड
हात धोएर
सन्तान जन्माउनू
लकडाउनको मुहूर्तमा।
चोरहरू,
डाँकाहरू,
दलालीहरू,
भ्रष्टहरू
सबैसबैले
अन्तिमपटक नै सही
नचोर्नू कसैको श्री
न बिटिल्याउनू कसैको सुहाग
लकडाउनको मुहुर्तमा।
पारपाचुके गर्नेहरूले
अन्तिम रात भए पनि
एकपटक सम्भोग गर्नू
र मेटाउनू
सुहागरातपछिका
प्रेमिल रातहरू
लकडाउनको मुहुर्तमा।
तन्नेरीहरूले
आफ्नो जवानीलाई
बाँधिराख्नू मनको तुनाले
सक्दै नसके
शौचालयमै सही
साबुनपानीले बीस सेकेन्ड
हात धोएर
वीर्यपात गर्नू
लकडाउनको मुहूर्तमा।
सरकार स्वयम्
लकडाउनमा छ।


























