दार्चुला, बैशाख ५ । जिल्लाका हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्ने मौसम शुरु हुँदैछ। वैशाख दोस्रो साताबाट स्थानीय यार्सागुम्बा सङ्कलनका लागि लेक उक्लिन चाँजोपाजो मिलाउन शुरु गर्ने गर्छन्। तर यार्सागुम्बा सङ्कलनका लागि चाजोपाँजो मिलाउने बेला यो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोराना महामारीका कारण यार्सागुम्बा टिप्न अनिश्चित भएको छ।
सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले यो वर्ष लकडाउनका कारण यार्सागुम्बा सङ्कलनका लागि अनुमति तथा सहमति नदिने निर्णय गरेसँगै यार्सागुम्बा सङ्कलन यो वर्ष अनिश्चित भएको हो।
प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन समितिका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहमा यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि अनुमति र सहमति नदिने निर्णय गरेको बताइएको छ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलनका लागि लकडाउन अवधिभर अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र सरोकारवाला निकायमा यार्सागुम्बा सङ्कलन अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन बैठकले निर्देशन गरेको हो। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले पनि आज सार्वजनिक सूचना जारी गर्दै संकट व्यवस्थापन केन्द्रको निर्णयलाई आधार मान्दै अर्को सूचना नभएसम्म यार्सागुम्बा सङ्कलन गर्न रोक लगाएको जनाएको छ।
दार्चुलामाका यार्सागुम्बा पाइने पाटनमा वैशाख दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु हुने गरेको छ। तर यो पटक वैशाख दोस्रो सातासम्म लकडाउन अवधि रहेका कारण अर्को आदेश नभएसम्मका लागि यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए।
जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट अनुमति लिएर हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जान्छन्। महामारीका बेला यार्सागुम्बा सङ्कलन खुला गरिँदा यसले झन जोखिम हुन्छ। मौसम पनि शुरु हुनै लागेकाले अहिलेदेखि रोक लगाइएको मेहताले बताए।
यस वर्ष हिउँ पग्लि नसकेका कारण केही ढिला भए पनि मौसम शुरु हुनै लागेकाले उत्तरी भेगका स्थानीय यार्सा टिप्न जाने तयारीमा थिए। यो बेला बजारबाट लेकका लागि चाहिने खाद्य सामग्री, जुत्ता त्रिपाल खरिद गरी उक्कलिने तयारी गरिन्छ।
जिल्लामा वैशाख दोस्रो सातादेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन हुने गर्छ। व्यासका बासिन्दा दानसिंह कार्की लेकमा यार्सागुम्बा सङ्कलनको समय शुरु हुनै लागेको भन्दै लकडाउनका कारण यो पटक भने समस्या सिर्जना गरेको बताउछन्। “यो पटक लेक कसरी उक्लिने चिन्ता छ”, उनले भने, “सबैलाई बन्द गराइए ठिकै हो, कोही लेक पुग्ने कोहीलाई बन्द भए जीविकोपार्जनको माध्यम बन्द हुन्छ।”
जिल्लाका अपिहिमाल, व्यास गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका अधिकांश स्थानीय एकदेखि डेढ÷दुई महिनाका लागि पुग्ने खानेकुरा, लत्ताकपडा आवश्यक सामग्री लिएर लेक जाने गर्छन्। यहाँका स्थानीयको अधिकांशको वर्षभरिको खाद्य जोहोको आधार भनेकै यार्सागुम्बा हो। “वर्षभरिको जीविका चल्ने यार्सागुम्बा टिप्न नपाइ भने समस्या हुने भयो”, कार्कीले भने।
गत वर्षदेखि यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिन शुरु गरेको थियो। तर स्थानीय भने हरेक वर्ष समयअगावै लेक पुग्ने गरेका थिए।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले हरेक वर्ष अनुमति जारी गर्छ । यहाँका यार्सागुम्बा पाइने पाटन, अपि फेद, लोलु, रोखापु, सातगंगा, चाइमटेला, काटै, धरमघर, क्षति, व्यास, दूधीवनलगायतका क्षेत्रमा यार्सा सङ्कलन हुने गरेको छ । यहाँका पाटनमा हरेक वर्ष पाँचदेखि १० हजार मान्छे जाने गरेका संरक्षण क्षेत्रको तथ्याङ्क छ ।
यहाँबाट वार्षिक पाँचदेखि आठ क्वीन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गर्छ । यहाँका अपिहिमाल, व्यासलगायतका क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि एक महिनासम्म विद्यालय बिदा दिइन्छ । यहाँका हिमाली क्षेत्रका स्थानीय विद्यालय भर्ना अभियान सकिएपछि लेकका लागि तयारी गर्छन् ।
त्यही लेकमा सङ्कलन गरेको यार्सागुम्बाले हिमाली क्षेत्रका नागरिकले पढाइ खर्च जोहो गर्ने गर्छन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना दुई वर्षदेखि यार्सागुम्बा सङ्कलन गरिए पनि व्यापारीले बिक्री गर्न नसक्दा समस्या भएको बताउछन् । “कोही व्यापारीले दुई वर्षदेखि उचित मूल्य नपाएको भन्दै यार्सागुम्बा बिक्री गरेका छैनन्”, अध्यक्ष ठगुन्नाले भने, “यार्सागुम्बा पनि कम हुँदै गएको छ ।”
छिमेकी जिल्ला बझाङमा पनि यो वर्ष कोरोना महामारीका कारण यार्सा सङ्कलनमा रोक लगाइको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अर्को आदेश जारी नभएसम्मका लागि सबै स्थानीय तह र डिभिजन वन कार्यालयमार्फत यार्सा सङ्कलनको अनुमति र सहमति नदिने निर्णय गरेको हो ।
बझाङका सुर्मा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल तथा जयपृथ्वी नगरपालिकाका तीन÷चार हजार स्थानीयवासी लेक पुग्छन् ।


























