बैशाख २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै राज्यमा लागु गरिएको लकडाउन फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन्।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गरेका हुन्।
उनको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन्।
‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ,’ पत्रकारसँग रिसाउँदै प्रस्तुत भएका ट्रम्पले भने, ‘राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार छ, यो कुरा गभर्नरहरु पनि जान्दछन्।’
अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन हटाउने तयारी समेत भएको उनले जनाएका छन्।
अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा निहित छ। लकडाउन हटाउने अधिकार ट्रम्पसँग नरहेको कानूनविद्हरुले बताएका छन्।


























