चितवन, चैत्र ३० । भरतपुरमा स्थापना भएको कोरोना विशेष (अस्थायी) अस्पताल भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने भएको छ। आइतबार भरतपुर महानगरपालिकामा बसेको कोरोना नियन्त्रण कार्यदलको बैठकले महानगरले स्थापना गरेको अस्थायी अस्पतालको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भोलि बैशाख १ गतेदेखि नै भरतपुर अस्पताललाई दिने निर्णय गरेको हो। अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने गरी भरतपुर महानगरपालिकासँग यसअघि नै गरेको सम्झौता सम्झौतासमेत सोही बैठकले अनुमोदन गरेको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा भोजराज अधिकारीले जानकारी दिए।
यससँगै कोरोना नियन्त्रण कार्यदलले अस्पताल र प्रयोगशाला स्थापनार्थ गठन गरेका सबै उप–समितिलाई तत्कालका लागि निष्कृय गरेको छ। प्रयोगशाला, व्यवस्थापन, खरिद, प्राविधिक, कर्मचारी भर्ना र क्वारेन्टाइनलगायतका उप–समिति निस्कृय गरेको हो। तत्कालका लागि काम नभएकाले ती उपसमिति निष्कृय गरेको उनले बताए। सोही बैठकले चिकित्सकहरूलाई चितवन जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएमा कसरी नियन्त्रण र उपचार गर्न सकिन्छ भन्ने विषयमा योजना बनाउनसमेत निर्देशन दिइएको उनको भनाइ छ। ‘चिकित्सकहरूले योजना बनाइसकेपछि हामी अर्को बैठकमा छलफल गर्नेछौँ,’ उनले भने।
बैठकले कोरोना भाइरसको संक्रमण चितवन जिल्लासँग नजिक नजिकका जिल्लाहरूमा समेत देखिन थालेकोले चितवन जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको हुँदा सबैले आ–आफ्नै स्थानबाट सकेको सहयोग गर्न पनि सबैलाई आग्रह गरिएको छ। आइतबार मात्रै वीरगञ्जमा तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ पुगेको छ। तीमध्ये एक जना निको भएर घर गइसकेका छन् भने बाँकी ११ जना उपचाररत छन्।
कोरोना नियन्त्रण कार्यदलकी संयोजक एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलिबाटै कोरोना अस्पतालको पूर्ण सञ्चालन भरतपुर अस्पतालले गर्ने भए पनि सञ्चालनका क्रममा आउन सक्ने समस्या र जटिलतामा महानगरले आवश्यक सबै खालको सहयोग गर्ने बताइन्। उक्त बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी भारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।


























