काठमाडौं, चैत्र २८ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज आज चीन जांँदैछ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्री अभाव भएपछि सरकारले निगमको वाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउन लागेको हो। जहाज स्वास्थ्य सामग्री लिन शुक्रबार बेलुका सॉढे ७ बजे ग्वान्जाओतर्फ उड्ने निगमले जनाएको छ।
सरकारले चिकित्सक तथा स्वास्थ्य व्यवसायीसँग छलफलपछि जहाज चीन पठाउन लागेको हो। स्वास्थ्य मन्त्रालय, स्वाथ्य सेवा विभाग, चिकित्सक लगायत कोरोना परीक्षणमा खटिने जनशक्तिले पीपीई नभई कोरोना परीक्षण नगर्ने चेतावनी दिएपछि सरकारले व्यवसायीलाई तत्काल स्वास्थ्य सामग्री ल्याउन अनुमति दिएको हो।
निगमका अनुसार जहाज स्वास्थ्य सामग्री लिएर शनिबार बिहान ६ बजे अघि नै काठमाडौं फर्कनेछ। नेपालले ल्याउन लागेको २० टन स्वास्थ्य सामग्री ग्वान्जाओमा तयारी अवस्थामा छ। स्वास्थ्य सामग्री लिन जाने जहाजमा चालक दलका ५ सदस्यसहित १० जना रहने निगमले जनाएको छ।


























