काठमाडौँ, चैत्र २७ । कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन्।
बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर बस्न नसक्ने, ग्राहकले पनि सेवा लिन बैङ्कसम्म पुग्न नसक्ने हालको अवस्थामा मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, कनेक्ट आईपीएस जस्ता सेवामा जोड दिँदै आएका छन्।
नगद कारोबारको सट्टा कार्ड प्रयोगमा विभिन्न छुटको घोषणा गरेर ग्राहकलाई प्रोत्साहन गरिरहेका छन्। यतिबेला बैङ्कले जुनसुकै बैङ्कको एटीएमबाट रकम निकाल्न पनि सकिने सुविधा पनि निःशुल्क रूपमा उपलब्ध गराइरहेका छन्। बैङ्कले डिजिटल हेल्प डेक्स राखेर नै पुराना तथा नयाँ ग्राहकलाई विद्युतीय कारोबारमा सहयोग पुर्याउँदै आएका छन्।
बन्दाबन्दी अघिको तुलनामा यस्ता सेवा लिनेको सङ्ख्या बढिरहेको दाबी बैङ्कको छ। एनआईसी एसिया बैङ्कका डिजिटल मार्केटिङ प्रमुख विनय खड्काले आफ्नो बैङ्कमा बन्दाबन्दीपछि मोबाइल बैङ्किङ २५ देखि ३० प्रतिशतसम्म बढेको बताए। यसरी बैङ्कले नयाँ प्रविधि र शैली अपनाउँदै जाँदा ग्राहकको खाता सुरक्षामा चुनौती पनि थपिएको छ। गलत प्रवृत्तिका मानिसले विभिन्न सामाजिक सञ्जाल, इमेल, फोन कल वा एसएमएस मार्फत सम्पर्कमा आएर बैङ्क खातासम्म पुग्न सक्नेबारे बैङ्कले सचेत पनि गराउन थालेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालले आफ्ना खातावाललाई इमेल पठाएर त्यसबारे सचेत गराउन थालेको छ। गोरखापत्रमा खबर छ।

























