चैत्र २५ । भोली बिहान अर्थात चैत २६ गते बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ। खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात भोलि मात्र हुनेछ। यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन।
भोली चन्द्रमा र पृथ्वीबीचको दूरी सबैभन्दा कम हुनेछ। पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ। यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ। तर सुपरमुनका समयमा पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ।
भोलि देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ। औसत दिनको तुलनामा चन्द्रमा आकारमा झण्डै १४ प्रतिशत ठुलो देखिन्छ। यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ। यस पटक चन्द्रमा गुलावी रंगको हुनेछ।
अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पोट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिनेछ। सीएनइटीको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट (जीएमटी) नेपाली समय अनुसार चैत २६ गते बिहान ८ बजेर २० मिनेटमा देखिने छ। जसका कारण नेपालमा अत्यधिक उज्यालो भएकाले चन्द्रमाको पुर्ण सुन्दरता भने देखिने छैन। तर अहिले अपरान्ह (चैत २५को अपरान्ह) पछि नै चन्द्रमा चम्किलो हुन थाल्नेछ।
सुपरमुन शब्दको पहिलो प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका थिए। उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिएका थिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताएका थिए।


























