चैत्र २५ । मुलुकमा जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन्।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्क घटुवामा परेका हुन्। मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ।
द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकारेका छन्। उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन्।
स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो। न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन्। एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन्।
न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन्। एक समयमा सरकारको उजुरी गर्ने वेबसाइट नै अन्यधिक लोडका कारण क्र्यास भएको थियो।

























