काठमाडौँ, चैत्र २४ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि पोल्ट्री क्षेत्रले बढी क्षति बेहोर्नुपरेको छ।
अन्डा, चल्ला, मासु र दाना क्षेत्रमा दैनिक करिब २२ करोड रुपैयाँ बराबरको नोक्सानी भइरहेको व्यवसायी बताउँछन्। यसअनुसार १२ दिनमा आफूहरूले साढे दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको उनीहरूको भनाइ छ। सरकारले अत्यावश्यक वस्तुको ढुवानी र बिक्रीवितरणमा अवरोध नगर्ने जनाए पनि कार्यान्वयन नहुँदा समस्या भएको उनीहरूको दाबी छ।
‘लकडाउनले पोल्ट्रीको चक्र प्रणाली नै बिग्रेको छ। दैनिक करिब २२ करोड नोक्सान भइरहेको छ,’ नेपाल ह्याचरी उद्योग संघका कोषाध्यक्ष बलराम सन्जेलले भने। उनका अनुुसार दानाका लागि कच्चापदार्थ (मकै र भटमास) को आयात ठप्प छ। यसले कुखुरालाई खुवाउने दाना अभाव भएको छ। जसले गर्दा चल्ला पनि बिक्री भएको छैन। कुखुराको अन्डा पनि बिक्री नभएको उनले गुनासो गरे।
‘लकडाउनकै कारण मकै र भटमास भारतबाट आएन। सामान लोड गर्न कामदार छैनन्। भन्सारमा पनि कर्मचारी छैनन्,’ कोषाध्यक्ष सन्जेलले भने, ‘अहिले पोल्ट्री क्षेत्रको प्रणालीमै असर पुगेको छ।’ कुखुरा र अन्डा ढुवानीमा प्रहरी प्रशासनबाट पनि अवरोध भएको व्यवसायी बताउँछन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहलाई कुखुरा, अन्डालगायत अत्यावश्यक वस्तु ढुवानीमा अवरोध नगर्न पत्र पठाए पनि सहजीकरणको समस्या देखिएको व्यवसायीको गुनासो छ।
सातामा २८ देखि ३० लाख चल्ला उत्पादन हुन्छ। दिनदिनै ४० लाख अन्डा खपत हुन्छ। ९० प्रतिशत किराना पसलबाट बिक्री हुन्छ। तर पसल नै खुलेका छैनन्,’ सन्जेलले भने, ‘तयारी कुखुरासमेत बजारमा पठाउन सकिएन। ढुवानी गरेर सवारी खाली फर्किंदा प्रहरीले रोक्यो। अहिले खाडल खनेर कुुखुरा पुर्नुपरेको छ।’
ल्ला (ब्रोइलर र लेयर्स) मा दैनिक ३ करोड ४५ लाख रुपैयाँ र ब्रोइलर (तयारी कुखुरा) मा १५ करोड रुपैयाँ नोक्सानी भइरहेको नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ। अन्डामा ३ करोड रुपैयाँ र अन्य विविध उत्पादनमा ५० लाख रुपैयाँ नोक्सानी भएको महासंघको भनाइ छ।
दाना उद्योग संघका अध्यक्ष रविन पुरीको भनाइ पनि उस्तै छ। लकडाउनका कारण हप्तामा करिब ३० लाख चल्ला गाड्नुपरेको उनले बताए। ‘बजारमा दाना छैन। ढुवानी गर्ने कामदार छैनन्,’ उनले भने, ‘कृषि मन्त्रालयले नसमात्न निर्देशन दिए पनि ट्राफिकले गाडी रोक्छ। यस्तो अवस्थामा कुखुरा राख्न सकिएन।’ ‘सबै होटल बन्द छन्। मासु पसल सञ्चालन गर्न ग्यास पनि पाइएन,’ उनले भने, ‘दाना नपाएर कुखुरा मरेका छन्। किसानले तयारी कुखुरा पनि खाल्डोमा पुर्नुपरेको छ।’
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि पोल्ट्री क्षेत्रमा बढी समस्या देखिएको बताए। ‘मासु खपत धेरै घटेको छ। ढुवानीमा समस्या छँदै छ,’ उनले भने। भारतबाट पनि पर्याप्त कच्चापदार्थ आयात हुन नसकेको उनले स्विकारे। ‘लकडाउनका कारण दानाका लागि चाहिने कच्चापदार्थ पर्याप्त आउन सकेन। आयात सहज गराउने विषयमा मन्त्रालयले प्रयास गरिरहेको छ,’ उनले भने।
व्यवसायीका अनुसार कतिपय कच्चापदार्थ सीमामा रोकिएको छ। नेपालमा मकै उत्पादन भए पनि करिब ३ महिनालाई मात्रै पुग्छ। भटमास आयातमै निर्भर हुनुुपर्ने बाध्यता छ। ‘अधिकांश भारतबाट आउँछ। तर आयात गर्ने अवस्था नै भएन,’ अध्यक्ष पुरीले भने।
जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ
मासुको माग घटेपछि मूल्य जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ। व्यवसायीका अनुसार मासुको बिक्री ७० प्रतिशत घटेको छ। माग नभएपछि व्यवसायीले मूल्य घटाएका हुन्। ‘तयारी मासुको मूल्य भने २ सय ६० देखि ७० रुपैयाँ छ,’ अध्यक्ष पुरीले भने।
तीन महिनाअघि कुखुरा मासुको खुद्रा मूल्य ४ सय २० रुपैयाँसम्म पुगेको थियो। मंसिर अन्तिम साता कुखुरा व्यवसायीले उत्पादन बढी भएको भन्दै कुखुराका चल्ला नष्ट गरेका थिए। त्यसपछि उत्पादन कम भएको र माग धान्न नसकेको भन्दै मासुको मूल्य एकाएक बढाइएको थियो। अहिले कोरोनाको त्रास र लकडाउनका कारण मासु खपत घटेको छ।
लकडाउनका कारण बजार ध्वस्त भएको चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काले बताए।
(कान्तिपुर अनलाइनबाट)