– सविता अधिकारी
कोरोना भाइरसले विश्वमा महामारीको रुप लिंदै गर्दा आफू र आफ्ना परिवारलाई जोगाउन मानिसहरूले आवश्यक सावधानी अपनाइरहेका छन्। सामाजिक सञ्जालमा भाइरसबारे देखिएका शंकास्पद सूचना, हल्ला र गलत समाचारले सर्वसाधरणमा त्रास उत्पन्न भएको छ। स्वास्थ्य संकटका बेला गलत सूचनाको प्रवाहले डर र त्रास फैलिने ठूलो सम्भावना रहन्छ। ‘वनको बाघले खाओस नखाओस मनको वाघले खान्छ’ भने झैँ गलत सूचनाले मानिसको जीवन जोखिममा पार्न सक्छ।
भाइरस र यसबाट कसरी बच्ने भन्ने बारेमा धेरैले विभिन्न खालका सूचना आदानप्रदान गरिरहेको भएतापनि तीमध्ये केही मात्र उपयोगी र भरपर्दा छन्। अन्य क्षेत्रहरुमा अपनाइने सावधानी जस्तै सूचनाको विश्वसनीयतामा पनि उत्तिकै ध्यान दिन जरुरी छ। कोरोना संक्रमितको उपचारमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारी तवरबाटै थप सेवा सुविधा दिने समाचारहरु पनि आइरहेका छन्। तर, यस्तो बेलामा समाचार संकलन र प्रकाशन तथा प्रशारणमा रहेका पत्रकारहरुको लागि कसैले केही आवाज उठाएका छैनन्।
सबैले आ-आफ्नै तरिकाले साबधानी अपनाइरहेको वर्तमान परिप्रेक्षमा समाचार संकलनमा हिँड्ने पत्रकारहरुले आफ्नो कर्मलाई कसरी सुरक्षित बनाएका छन्? यस्तो अवस्थामा चितवनका पत्रकारहरुले कसरी काम गरिरहेका छन् त? यही विषयमा रहेर विगत लामाे समयदेखि चितवनमै रहेर सक्रिय पत्रकारिता गर्दै आएका व्यक्तिहरुसँग संक्षिप्त कुराकानी गरेका छाैँ। प्रस्तुत छ सो कुराकानीको संपादित अंश।
राधेश्याम खतिवडा : अध्यक्ष, नेपाल पत्रकार महासंघ, चितवन शाखा

सर्वप्रथम आफू सुरक्षित रहेर रिपोर्टिङ गर्नुपर्छ। जनतालाई सूचना दिनु हाम्रो कर्तव्य पनि हो। राज्यको आधिकारिक निकायले पुष्टी गरेका सूचना मात्र सम्प्रेषण गर्ने। नहतारिने, सही सूचना दिने र चेतना जगाउने, कसरी जोगिन सकिन्छ, के कुरामा ख्याल राख्ने भन्ने विषयमा आफू र आफ्नो मिडियामार्फत जागरुपता जगाउने हिसाबले काम गर्ने बेला हो यो। इतिहासमा मानवीय संकटका निम्ति सबैभन्दा जोखिमको क्षण हो। यस विषयमा कहाँ के भयो, कस्तो अवस्था आयो, कसले के भने सामाजिक सञ्जाल प्रयोगकर्ताले कस्तो भनाइ राखे, सरोकारवालाहरु के गर्दैछन्, यस्तै यस्तै कुरा डायरीमा लेख्यौं भने इतिहासको बलियो दस्तावेज बन्न सक्छ। पत्रकारले गर्ने काम यो पनि हुनसक्छ। विगतमा गरेका कार्यको अभिलेख राख्न सक्छौं। पुराना किताब, आफ्ना डकुमेन्ट, सामाग्रीहरुलाई व्यवस्थापन गर्न सक्छौं।
पत्रकारले परिवारलाई खासै समय दिन सकिरहेको हुँदैन त्यसैले परिवारसँग नजिक हुने घरको काम गर्ने र आफ्नो लागि पनि समय निकाल्न खुसी रहने। सामाजिक सञ्जालमा आएका सबै कुरा तथ्यपरक नहुन पनि सक्छ। आम सर्वसाधरण योसँगै जोडिने हुँदा हामीले कस्तो समाचार राख्ने भन्ने कुरामा अलि बढी सचेत हुनुपर्छ।
(नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा करिब दुई दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आइरहेका छन्। चितवन जिल्लाका विभिन्न एफएम रेडियोमा समेत काम गरेको अनुभव लिइसकेका खतिवडा हाल उज्यालो नाइन्टी नेटवर्क र राजधानी दैनिकको लागि चितवनबाट समाचार लेख्दै आएका छन्।)
नारायणप्रसाद अधिकारी : प्रमुख, राष्ट्रिय समाचार समिति (रासस), चितवन

अहिले हामी निकै महत्त्वपूर्ण समयमा छौँ। गाह्रो र चुनौतीको समय पनि हो। आफू सुरक्षित रहेर रिपोर्टिङ गर्नुपर्ने परिस्थिती छ। चिकित्सक र स्वास्थ्यकर्मी पछि उच्च जोखिममा पत्रकार छन्। सही र सन्तुलीत समाचार दिनु पर्ने हाम्रो दायित्व पनि हो। आफू बचेर सूचना दिनुपर्नेछ। कोरोना कार्यदलको बैठकमा पनि जानु पर्ने हुन्छ। यद्यपि हामीले के भनेका छौं भने जो जानुहुन्छ अरुलाई पनि पठाइदिने। सकेसम्म घरमा बसेर काम गर्ने वातावरण मिलाउने। त्रास र आतंकित बनाउनेभन्दा सन्तुलित ढंगले बुझाउने प्रयासमा पत्रकार लाग्नुपर्छ। म पनि त्यही अनुरुप लागेको छु। हामी नियमितरुपमा समाचार राखिरहेका छौं।
राससको केन्द्रीय पोर्टलबाट यसअघि दैनिक सयको हाराहारीमा समाचार प्रकाशन हुन्थ्यो भने अहिले सवा सयभन्दा माथि समाचार दैनिक समाचार प्रकाशन भइरहेको छ। सरकारी सञ्चार माध्यम भएकोले अरुको भन्दा थप जिम्मेवारी छ भन्ने महसुस गरेका छौं। सही र सकेसम्म धेरै समाचार दिने, जसले गर्दा आम अनलाइन मिडिया, रेडियो, टेलिभिजन, चलिरहेका पत्रिकालाई पनि सहयोग होस् भन्ने चाहानाका साथ काम गरिरहेका छौं।
(रासस चितवनका प्रमुख नारायणप्रसाद अधिकारी करिब दुई दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन्। नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारी हाल नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष हुन्।)
ईश्वरकुमार जोशी : संवाददाता, बीबीसी नेपाली सेवा र नेपाल टेलिभिजन

पहिलो कुरो त सजीव प्राणीको लागि स्वास्थ्य नै सबै कुरो हो। स्वास्थ्यभन्दा ठूलो केही पनि हुँदैन। स्वास्थ्य रहे सबै रहन्छ। त्यसैले अरु बेलामा स्थलगत रिपोर्टिङ गर्दै आएका पत्रकारहरुले पनि यतिबेला सकभर घरैबाट फोन, इमेलमार्फत गर्न सकिन्छ। लकडाउनको समयमा बाहिर निस्कनु उचित होइन। हाम्रो सुरक्षाको लागि हामीसँग माक्स र पन्जाबाहेक केही पनि हुँदैन।
कोरोनाको मात्र समाचार धेरै भयो, त्यसैले सन्तावना दिने खालको समाचार बनाउन सकियो भने अझ राम्रो हुन्छ। रिपोर्ट आइसकेको छैन कोरोनाको आशंका, व्यक्तिको मृत्यु भन्ने खालका समाचार आइसकेको हुन्छ। जसले गर्दा सर्वसाधरणमा त्रास उत्पन्न हुन्छ। चितवनमा त अहिलेसम्म कसैको पोजेटिभ आ’को छैन। पत्रकारहरुले कस्तो समाचार दिने भन्ने कुरामा आफैँले बिचार पुर्याउनु पर्छ। पहिले त आफू बच्ने हो त्यसपछि अरुलाई बचाउने हो। बीबीसीले पनि त्यही भन्छ, पहिले आफू बच्नुस् अनि रिपोर्टिङ गर्नुस्। म पनि त्यति धेरै बाहिर निस्केको छैन।
(बीबीसी नेपाली सेवा र नेपाल टेलिभिजनमा कार्यरत पत्रकार जोशी करिब साढे दुई दशकभन्दा लामोसमयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। हालसम्म पनि उनी समाचार संकलनमा दौडिरहेका छन्। उनलाई चितवन जिल्लाको अग्रज पत्रकारको रुपमा पनि लिने गरिन्छ। उनी हाल नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य हुन्।)