बइजिङ, चैत्र २० । चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ। सेनजेन कुकुर र बिरालोको मासु बिक्री र खान प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर हो।
नोभेल कोरोना भाइरस जंगली जनावरको मासुबाट सरेको भन्ने कुराहरु सार्वजनिक भएपछि चिनियाँ अधिकारीहरुले यसअघि नै जंगली जनावरहरुको बिक्री वितरण र निर्यातमा रोक लगाइएको थियो।
सेन्जेनले एक कदमअघि बढ्दै कुकुर र बिरालोको मासुको बिक्री वितरणमासमेत रोक लगाइएको छ। यो नयाँ नियम मे १ देखि लागु हुने बताइएको छ। एसियामा मासुका लागि वार्षिक तीन करोड कुकुरहरु मारिने गरेको ह्युमन सोसाइटी इन्टरनेसनलले जनाएको छ।
यद्यपि, चीनमा बस्ने सबैले भने कुकुरको मासु खाँदैनन्। अधिकांश चिनियाँहरुले भने कुकुरको मासु बिक्री वितरणमा रोक लगाएका छन्।
‘कुकुर र बिरालोको मानिससँग निकै लामो समयदेखि नजिकको सम्बन्ध छ। अधिकांश विकसित मुलुकहरुमा ककुर र बिरालोको मासुमा प्रतिबन्ध लगाएका छन्,’ सेनजेनका स्थानीय सरकार प्रमुखले भने, ‘यो निर्णय पनि मानव सभ्यताको माग र भावनालाई कदर गर्दै गरिएको हो।’
जनावरको अधिकारसम्बन्धी काम गर्ने ह्युमेन सोसाइटी इन्टरनेशनलले पनि यस कदमको प्रशंसा गरेको छ। बीबीसी


























