चैत्र १९ । कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभाव विश्वभरका शेयर बजारमा परेको छ। शेयर बजारमा यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा पछिल्लो ३३ वर्ष यताकै सबैभन्दा धेरै नोक्सानी भएको देखिएको छ।
द डाउ जोन्स इन्डस्ट्रियल एभरेज र लण्डनको एफटिएसइ १०० शेयर बजारमा पछिल्लो ३३ वर्ष अर्थात सन् १९८७ यताकै सबैभन्दा धेरै नोक्सानी भएको हो। यी बजारमा यो वर्षको पहिलो त्रैमासिकमा क्रमशः २३ र २५ प्रतिशत नोक्सानी भएको हो।
द एस एण्ड पी ५०० शेयर बजारमा पहिलो त्रैमासिकमा २० प्रतिशतको नोक्सानी भएको छ। यो सन् २००८ यताकै सबैभन्दा खराब अवस्था हो।
विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन तथा सेल्फ आइसोलेसनका उपायहरु अपनाएका कारण बजार प्रभावित भएको हो।
अर्थशास्त्रीहरुले विश्वको अर्थतन्त्रमा पर्ने असर आर्थिक संकट भन्दा भयावह हुने चेतावनी दिएका छन्।


























