नवलपुर, चैत्र १८ । जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६६ प ४६८३ नंको स्कुटर विनयी त्रिवेणी गाउँपालिका–१ को वन कार्यालय नजिकै दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीको ठाडा गाउँपालिका–३ घर भएका ३८ वर्षीय पदमबहादुर केसीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाका अनुसार मोटरसाइकल दुर्घटनामा गम्भीर भएका केसीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
स्कुटरको पछाडि बस्ने गुल्मीको रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय नेत्रबहादुर थापा क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। स्कुटरको गति तीव्र भएका कारण अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए।

























