ऐतिहासिक गीत छ- ‘म माहुरी हुँ राधा, तिमी आँप मञ्जरी हौ’ । धेरैलाई याद मात्रै होइन बेलाबेला गुनगुनाउनु पनि हुन्छ होला। गीतमा भनिएजस्तै आँपका मञ्जरी देख्ने मौसम हो यो। भिमनिधी तिवारीले यो गीत लेख्दै गर्दा पक्का पनि यहि ऋतु चलिरहेको हुनुपर्छ । उसै पनि कविहरु वसन्त ऋतुलाई लेखनसँग जोडिएर हेर्दा स्वर्णिम याम मान्छन् । जताततै नयाँ पालुवा, नयाँ आँकुरा, रंगीचंगी फूलहरू।
कविहरूको मात्र कहाँ हो र। यो बेला त चातैतिर हरियाली र रंगिन रूखका दृश्य देखेर हरेक व्यक्तिको मन पुलकित हुन्छ। प्रकृति आफैं नाचिरहेको छ, झुमिरहेको छ। चराहरू मिठो गीत गाइरहेका छन्, यस्तो लागिरहेछ चराहरु कुनै संगीत साँझमा अर्केस्ट्रा बजाइरहेका छन्।
त्यसमाथि यो बेला त प्रकृति पूर्णतया स्वतन्त्र छ। मान्छेहरूको प्रकृतिमाथिको नियमित हस्तक्षेप यतिबेला रोकिएको छ। प्रकृतिलाई बन्दी बनाउने हामी यतिबेला आफैं बन्दि बनेर ‘लकडाउन’मा छौं। तर, प्रकृति भने खुल्ला र स्वतन्त्र अनुभव गरिरहेकाे होला।
व्यापक औद्योगीकरण र आर्थिक सम्बृद्धिको नाममा प्रकृतिमाथि मानव जातिले अत्याचार गर्दै आएको ध्रुवसत्य हो। तर, मान्छे आफैं बन्दी बनेको यो समयमा आकाश सफा छ। पानीका स्रोतहरू स्वच्छ छन्। धुँवा र धुलोको बादलले छोपिरहने यो ऋतुको सौन्दर्य यतिबेला पहिलेभन्दा खुलेको छ। तर, बन्दी बनेका हामीले कहाँ निर्धक्क यो सबै हेर्न पनि पाएका छौं र? बन्दाबन्दिमा रहनुबाहेकको समयमा हामीलाई परिवार, करिअर, काम र अर्थाेकले नै बन्दि बनाएको हुन्छ र यो सब रसास्वादन गर्न पाउँदैनौं। अहिले पूरा खाली त छौं तर कोरोना भाइरस (कोभीड-१९) को गोलचक्करमा हामी घरभित्रै थुनिँन/एक्लिन बाध्य छौं।
लकडाउनमा फसेका यहाँहरुका आँखालाई हामी केहीबेर मञ्जरीतर्फ डोर्याउँदैछौं। के थाहा तपाईंभित्र पलाएको अत्यासलाई आँपमा पलाएको मञ्जरीले थोरै भए पनि मेट्छ कि!
तस्बिर: विनोद अनुज