चैत्र १६ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३० हजार ८ सय ८८ मानिसको मृत्यु भएको छ। २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ८८ जनाको मृत्यु भएको हो।
६ लाख ६४ हजार १ सय ९२ मानिस संक्रमित भएका छन्। यसमध्ये १ लाख ४२ हजार ३ सय ६४ निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ। त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो।
५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ।
‘लकडाउन‘ तत्काल नखुल्ने
अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ। इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ अझ बढ्ने त्यहाँकी गृहमन्त्रीले बताएकी छन्।
इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन्।
इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन्।
यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ।
हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन्।
अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन्। कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन। यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ।
स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ। एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो।
थप ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ।


























