चितवन, चैत १३ । जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा अभाव सिर्जना गरी कालोबजारी गर्ने गरेको पाइएमा प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विज्ञप्ती जारी गर्दै लकडाउनको मौका छोपी कालाबजारी सिर्जना गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय चितवनको सम्पर्क नं. ०५६–५२१९४४, ९८५५०१७७७७, ९८५११५९५१४, ९८४१०४३६३४, ९८५५०६०९३७ र ९८५५०५४२७० मा सम्पर्क गरि सूचना दिनु आग्रह गरेका हुन्।
‘सरकारले देशैभर लकडाउन गरे पनि दैनिक जनजीवनका लागि आवश्यक उपभोग्य वस्तुको ओसारपोसार र बिक्री वितरणमा रोक लगाएको छैन,’अतः त्यस्ता वस्तुहरू सहजरूपमा आपूर्ति गरी बजारमा अभाव हुन नदिन सबै उत्पादक, वितरक र बिक्रेताहरूमा हार्दिक अनुरोध छ,’ विज्ञप्तीमा उल्लेख छ।
वर्तमान विषम परिस्थितिमा पनि बजारमा ग्याँस, खाद्यन्न, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानको अभाव सिर्जना गर्ने, कालाबजारी र जम्मोखोरी गर्नेलाई कानुनबमोजिम कडा कारवाही गरिने प्रशासनको चेतावनी छ।
