चितवन, चैत १३ । भरतपुर अस्पतालले हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शैय्याको सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्ने भएको छ।
‘नोबेल कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि पूर्वाधार तयारी उप–समिति’को बिहीबार बसेको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र उपचारको लागि १० शैय्याको आइसियुसहित ११ शैय्याको आइसोलेसन वार्डलाई थप गरी ३० शैय्याको बनाउने निर्णय गरिएको समितिका संयोजक डा.प्रकाश खतिवडाले जानकारी दिए।
कोरोना संक्रमित विरामीको व्यवस्थापन तथा उपचारको लागि अस्पतालमा सञ्चालनमा ल्याइने आइसियुमा भेन्टिलेटरको अभाव हुने देखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १० वटा भेन्टिलेटर र पर्याप्त मात्रामा पुग्ने गरी आवश्यक पर्ने पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पिपिई) माग गर्ने निर्णय गरिएको उनले बताए।
साथै सरकारले उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको परिवारको जीवन रक्षा र जीमा बिमाको ग्यारेन्टी गरिदिन पनि मन्त्रालयसँग माग गर्ने निर्णय भएको उनको भनाइ छ।
‘सरकारले त्यति गरिदिए हामी ढुक्क भएर काम गर्न सक्छौँ,’ उनले भने। भरतपुर अस्पतालबाट हालसम्ममा १७ जना शंकास्पद बिरामीको उपचार भएको अस्पतालले जनाएको छ। ‘हामीले यहाँबाट नमूना संकलन गरेर पठाएका सबै बिरामीको रिपोर्ट नेगेटिभ आएको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भने।
