चितवन, चैत्र १३ । कोभिड -१९ बाट संक्रमित लाखौं बिरामी निको भएका छन्। तर फेरि पछि पनि केहीमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ ?
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरू सामु अनौठो र चिन्ताजनक उदाहरण बने। ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो। जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए।
उनले सार्वजनिक यातायात पनि प्रयोग गरे। केही दिनपछि पुन: बिरामी भए र उनलाई ज्वरो आयो। ती पुरुष अस्पताल फर्किए। त्यहाँ उनलाई फेरि उक्त भाइरसको सङ्क्रमण भएको पाइयो। उनको जस्तो घटना अरू नभएको त होइन तर यसरी पुनस् सङ्क्रमित हुनेको सङ्ख्या न्यून छ। तर पनि कतिपयमा छ।
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्: कम्तीमा १४ प्रतिशत बिरामीमा पुन: कोभिड-१९ भएको पाइएको छ। उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो। ‘मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ’, उनले भने। ‘जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन्’। कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन्।
कोभिड-१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुन: सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ। अझै बुझ्न बाँकी कोभिड-१९ नयाँ भाइरस भएकाले यसको व्यवहार बारे वैज्ञानिकहरूलाई बुझ्न बाँकी छ। त्यसपछि मात्रै किन छिटो पुनस् सङ्क्रमण भएको भन्ने पत्ता लाग्ला।
मड्रिडस्थित कार्लोस तृतीय स्वास्थ्य प्रतिष्ठानका अनुसन्धाता इसिडोरो मार्टिनेज पनि कोरोनाभाइरसको पुन: सङ्क्रमण हुन सक्ने भए पनि कोभिड-१९ को पुन: सङ्क्रमण चाँडो भएकोमा अनौठो मान्छन्। ‘यदि लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्को महामारीमा फेरि सङ्क्रमित भइन्छ। त्यो सामान्य हो,’मार्टिनेजले बताए। ‘तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट सङ्क्रमित भइहाल्नु भनेको अनौठो हो। अहिलेसम्म हामीले बुझेअनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन,’ उनले भने। ‘सम्भवतस् के भइरहेको हुन सक्छ भने जो व्यक्ति कोभिड-१९ बाट निको भएका छन् तिनमा फेरि बाँकी रहेका भाइरसको अस्थायी वृद्धि भएको छ।’
अनुसन्धानकर्ताहरूले कोभिड-१९ बारे जान्न थप अनुसन्धान आवश्यक रहेको बताए। प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले बीबीसीलाई भन्यो ‘यो (कोभिड-१९) नयाँ भाइरस हो जसका बारे हामी हरेक दिन नयाँ कुरा थाहा पाइरहेका छौँ।’ त्यसैले पुनस्सङ्क्रमण बारे पनि अहिले नै यही हो भन्न सकिँदैन। तर विज्ञानले सरकारहरूलाई के कस्ता जनस्वास्थ्यका उपाय अपनाउनु सही हुन्छ भन्ने बारे सघाउन यथासम्भव उत्तर खोजिरहेको छ। बीबीसीको सहयोगमा