काठमाडौं, चैत्र १२ । सरकारले आव्हान गरेको लकडाउनको दोस्रो दिन आज हिजोभन्दा बढी कडाई गरिएको छ। विहानैदेखि प्रहरी सडकमा तैनाथ छन्। तर, सर्वसाधारण भने लकडाउनको अवज्ञा गर्दै सडकमा निस्कने क्रम रोकिएको छैन।
घरबाट बाहिर ननिस्कन सुरक्षाकर्मीले माइकिङ गर्दै व्यापक आव्हान गरेको छ। हिजो त सडकमा आएकालाई सम्झाएर घरतर्फ पठाएका थिए। तर, आज भने प्रहरी कडा रुपमा प्रस्तुत भएका छन्।
लकडाउनको अवज्ञा गर्ने एक साइकल यात्रीलाई प्रहरीले लाठीले हान्दै लखेटेको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ। यो भिडियो प्रहरीले नै खिचेको जस्तो देखिएको छ।
तराई क्षेत्रमा डिउटी प्रहरी छन् । सुनसान सडकमा एक साइकल यात्री आउँछन्। उनलाई के कामले भनेर प्रहरीले सोध्छन्। ती साइकल यात्रीले अंकललाई भेटेर आको भन्छन्। काम केही रहेनछन् भन्दै प्रहरीले लाठीले हान्दै लखेट्छन्।
सामाजिक सञ्जालहरुमा यो भिडियो पोष्ट गर्दै लकडाउन उल्लंघन गर्नेमाथि प्रहरी प्रहारलाई ठीक भन्नेहरु धेरै छन्। लकडाउन प्रहरीका लागि होइन, आमसर्वसाधारणको स्वास्थ्यका लागि भएको कुरा बताउनेहरु पनि छन्।


























