चितवन, चैत्र ८ । कायाकैरनकर्मी शिव गौतम माथि समाचार संकलनको क्रममा भएको दुर्व्यवहारको चौतर्फी आलोचना भएको छ। कायाकैरन मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा कायाकैरन दैनिक समाचारपत्रका प्रधानसम्पादक राजेश घिमिरेले विज्ञप्ती जारी गर्दै संबाददाता गौतम माथि भरतपुरको भाटभाटेनी सुपरमार्केटका कर्मचारीले गरेको दुर्व्यवहार तथा धम्कीको निन्दा गर्दै दोषी माथि कारबाही गर्न प्रशासनलाई आग्रह गरेका छन्।

कोरोना भाइरसको प्रभाव बारे समाचार संकलन गर्ने क्रममा पत्रकार गौतमले हिजो साँझ भाटभाटेनी सुपरमार्केटको मानव चाप र सामान भण्डारणको तस्विर खिचेका थिए। त्यहाँका कर्मचारीहरुले गौतमले खिचेका तस्विरहरु मेटाउन बाध्य पार्दै मिडियामा ल्याए नराम्रो हुने धम्की दिएका थिए।
उक्त घटनाको निन्दा गर्दै चितवनको पहिलो रेडियो सिनर्जी एफएमले पनि विज्ञप्ती जारी गरेको छ। एफएमका प्रबन्ध निर्देशक सहन प्रधान तथा स्टेसन म्यानेजर रामकान्त पौडेलद्वारा जारी विज्ञप्तीमा संकटको समयमा जनतालाई सुसुचित गराउन खटेका पत्रकार माथि भएको दुर्व्यवहारले सूचनाको हक कुण्ठित गर्ने काम भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गौतम सिनर्जी एफएममा पनि आवद्ध छन्।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले समाचार संकलन गर्दै गरेका पत्रकार माथि दुव्र्यवहार गरिनु दुःखद भएको बताए। यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराउने उनले बताए।
त्यसैगरी, नेपाल प्रेस युनियन चितवनले पनि विज्ञप्ती जारी गर्दै कायाकैरन दैनिक र सिनर्जी एफएमका कार्यरत पत्रकार गौतमलाई भाटभाटेनी सुपरमार्केटका कर्मचारीले गरेको दुर्व्यवहारको निन्दा गरेको छ। अध्यक्ष अनिल ढकालद्वारा जारी विज्ञप्तीमा युनियनका सदस्य समेत रहेका पत्रकार शिव गौतम माथि आफ्नो पत्रकारको परिचय दिँदा दिदै भएको अप्रिय घटनाले जनताको सूचना पाउने अधिकारमाथी कुण्ठित भएको जनाइएको छ। पत्रकारहरुलाई धम्कीपूर्ण तरिकाबाट गरिएको व्यवहार आपत्तीजनक भएको भन्दै विज्ञप्तीमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र पत्रकारहरुलाई स्वतन्त्रपूर्वक लेख्न सक्ने बातावरण तयार गरिदिन स्थानीय प्रशासनसँग माग गरिएको छ।

साथै, समाचार संकलन गर्ने पत्रकारहरुलाई सुरक्षाको अनुभुति गराउन स्थानीय प्रशासनसँग माग गरिएको छ।


























