चितवन, चैत ७ । चर्चित लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपानेले ‘कोरोना भाइरस’ रोकथामका लागि सुझावसहितको सचेतनामुलक लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन्। करिब दुई दशक पुरानो भाका ‘मिर्मिमुनी काली थुनेको’ गीतकै भाकामा तयार पारिएको गीतमा कोरोना भाइरसबाट नडराउन आग्रह गरिएको छ। रोगको संक्रमणले धनी, गरिब तथा ठूला साना केही नभन्ने हुँदा आवश्यकत सतर्कता अपनाउन सुझाइएको छ।

भीडमा जनान, मास्क लगाउन र साबुनपानीले नियमित हात धुने गरेमा कोरोनाको संक्रमणबाट टाढा रहन सक्ने गीतमा उल्लेख छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षसमेत रहेका गायक न्यौपानेकै शब्द÷संगीतमा तयार पारिएको उक्त गीतमा माया गुरूङ, ज्योति लोहनी र ईश्वर सिंहले आवाजमा साथ दिएका छन्। म्युजिक एरेञ्ज भने तेजेन्द्र गुरूङले गरेका हुन्। पोखराको एउटा दोहोरी साँझमा छायांकन गरिएको उक्त गीतमा सकभर भेटघाटका क्रममा टाढैबाट नमस्कार गर्न पनि सुझाव दिइएको छ।

दोहोरी गीत मनोरञ्जनको लागि मात्र नभई जनचेतनाको लागि पनि गाइन्छ र गाउन सकिन्छ भन्ने उदाहरण दिनको लागि पुरानै भाकामा नयाँ शब्दमार्फत जनचेतना फैलाउने प्रयास गरिएको गायक न्यौपानेले बताए। विश्व स्वास्थ्य संगठनले नै जोखिमयुक्त देशको रूपमा घोषणा गरिसकेकोले रोगसँग डराउनु भन्दा पनि यसबाट बच्न सचेतना फैलाउन आवश्यक रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए।


























