चितवन, चैत ६ । विश्वमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएका कारण नेपालमा पनि यसबाट बच्न सतर्कता अपनाउनुपर्ने भन्दै निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले सतर्क रहन सबैमा आग्रह गरेको छ। विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले विश्वभर नै जोखिम बढाउँदै गएकोले नेपालमा उक्त जोखिम आउन नदिन व्यक्ति स्वयम् सतर्क रहनुपर्ने भन्दै शुक्रबार विज्ञप्ती निकालेर सचेत रहन आग्रह गरिएको हो।
कोभिड–१९ बाट सुरक्षित रहन संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो क्षेत्रबाट तयारी गरिरहेका कारण सोही निर्णय र निर्देशनलाई पूर्ण पालना गरिदिन पनि आग्रह गरेको छ। संघका अध्यक्ष बाबुराम आचार्य र महासचिव शालिक दवाडीले शुक्रबार संयुक्तरूपमा विज्ञप्ती जारी गर्दै यसको प्रकोपबाट बच्न माक्स, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न पनि सुझाएको छ। साथै साबुनपानीले नियमित हातमुख धुन पनि संघले सुझाव दिएको छ।
योबेला मानवीय संवेदनालाई हेरेर पनि दैनिक उपभोग्य वस्तुमा बढी मूल्य नलिइदिन सबै प्रकारका व्यवसायीक प्रतिष्ठानहरूलाई अनुरोध गरिएको छ। आम उपभोक्तालाई खाद्यान्न, औषधिलागायत दैनिक उपभोग्य वस्तु तथा सेवाको अनावश्यक भण्डारण र संकलन नगर्न पनि संघले अनुरोध गरेको छ। सरकारले नै निर्देशन दिइसकेकोले सकभर बिनाकाम घरबाहिर ननिस्कन भनेको छ।























