नवलपरासी, चैत्र ७ । उपचारको लागि तीन दिनदेखि भौंतारिएका नवलपरासीका ३५ वर्षिय युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको छ।
कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि गएराति बुटवल अस्पतालले भर्ना लिएको हो।
बिरामीको नमुना परीक्षणको लागि आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ। जिल्ला अस्पताल परासी र प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितलाई उपचार गर्नकै लागि आइसोलेसन वार्ड तयार गरिएपनि चिकित्सकहरुले भर्ना लिन नमानेका हुन्।
कोरोना संक्रमितलाई उपचार गर्दा लगाउनुपर्न आवश्यक स्वास्थ्य किट र उपकरण नभएको हुनाले आफूहरुले बिरामीलाई छुन नमानेको जिल्ला अस्पताल परासीका डाक्टर पवन अग्रहरीले बताए।
सञ्चार माध्यमको चौतर्फी दबाबपछि बिरामीलाई भर्ना लिन प्रादेशिक अस्पताल बुटवल बाध्य भएको हो।
रामग्राम नगरपालिका–१६ हकुइका ट्रक चालक ती युवकलाई रुघाखोकी र ज्वरो आएपछि तीन दिनअघि परासीको एक क्लिनिक पुर्याइएको थियो।
त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो। प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाइयो।
त्यहाँबाट काठमाडौं पठाइएका बिरामीलाई आफन्तले कलंकीको एक निजी अस्पतालमा पुर्याए। उक्त अस्पतालले पनि भर्ना लिन नमानेपछि निराश भएका विरामी र आफन्त हिजो परासी फर्किएका थिए।
परासी अस्पतालबाट बुटवल जान भनेपछि मध्यराति बुटवल पुगेका बिरामीलाई अन्नतः अस्पतालले भर्ना लिएको हो।


























