काठमाडौं, चैत्र ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि) देखि हुने परीक्षा स्थगित गरिएको हो।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए।
यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर सावधानीपूर्वक सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यस्तै उच्चस्तरीय समन्वय समितिकोबुधबार बसेको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको थियो।
त्यस्तै, २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको थियो।


























