चितवन, चैत्र ५। भोली (बिहीवार) देखि हुने एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। चितवन जिल्लामा एसईई परीक्षाको लागि यस पटक पनि ४२ वटा केन्द्र तोकिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले चितवन जिल्लामा एसईई परीक्षाको तयार पूरा भएको जानकारी दिए। उनका अनुसार चितवन जिल्लामा मर्यादापूर्वक शान्त वातावरणमा एसईई परीक्षा हुनेछ।
यस वर्ष चितवनको एसईई परीक्षामा नियमित र एक्जाम्टेड गरी ११ हजार २ सय ५५ विद्यार्थी सहभागी हुदैछन्। नियमिततर्फ मात्र ११ हजार २ सय ५५ जना विद्यार्थी एसईईमा सहभागी हुदैछन्। एक्जाम्टेड तर्फ चितवनमा ५० जना सहभागी हुदैछन्।
शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत दीपेन्द्रराज श्रेष्ठका अनुसार विद्यार्थीलाई सकेसम्म पायक पर्ने स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। बिहान ८ बजेबाट परीक्षा सुरु हुन र यसअगावै विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ।
चितवनमा रहेका ६ वटा स्कुलले प्राविधिक विषय पढाइरहेका छन्। ती ६ वटा स्कुलका १ सय ८१ जना विद्यार्थीहरुले पनि एसईई परीक्षा दिदैछन्।यसपटकको एसईईमा सहभागी विद्यार्थीमध्ये ५ हजार ५ सय ३९ छात्र र ५ हजार ७ सय १६ छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ।


























