चितवन, चैत ४ । चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शीला चेपाङलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ। सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ। आफू अशिक्षित भएकै कारण टाठाबाठाले विकासका काम गर्न सक्छन् भन्ने उनको बुझाइ छ।
‘चेपाङ गाउँमा मात्रै किन आउँदैन विकास?’ उनको प्रश्न छ, ‘हामी कम बोल्ने र कम बुझ्ने भएर होला कि थाह नभएको?’ स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटबारे स्थानीयलाई केही पनि थाह नहुने उनी बताउँछिन्। स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनको गुनासो छ। शीलाजस्तै अन्य चेपाङको गुनासो
पनि उस्तै छ। ‘हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छौँ र बेच्छौँ’, स्थानीय रामजी चेपाङले भने। विद्यालय टाढा हुँदा बालबालिका नियमित विद्यालय जानै समस्या भएको उनको भनाइ छ।
कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्नसके मात्रै पनि बालबालिका नियमित विद्यालय जाने वातावरण बन्छ भन्ने उनलाई लागेको छ। चेपाङ जातिको बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने उनको माग छ। ‘पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ,’ उनी भन्छन्। – रासस


























