काठमाडौं, चैत्र ३ । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी त्रासदी मच्चाइरहेका बेला अमेरिकाले भारसबिरुद्धको खोप आजदेखि परीक्षण गर्ने भएको छ। कोरोना भाइरसबिरुद्धको खोप यसअघि बाँदरमा परीक्षण गरिएको थियो। बादरमा सफल भएपछि मानवमा आजदेखि परीक्षण गर्न लागिएको हो।
अमेरिका र युरोपमा यतिबेला कोरोनाको प्रकोप महामारीका रुपमा फैलिदै गएको छ। महामारीले विश्व नै आक्रान्त बनेका बेला अमेरिकाले खोप उत्पादन गरेको छ। तर खोप सफल हुन्छ या हुँदैन त्यो भने केही दिनपछि मात्र थाहा हुनेछ। ‘क्लिनिकल ट्रायल’ स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा परीक्षण गरिने भएको छ।
हाल तयार पारिएको खोप अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले बनाएको हो। सियाटलमा रहेको वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण हुने भएको छ। कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने गर्दछ। तर यो परीक्षणबाट यो खोप सफल भए तत्काल विश्वभर पठाइनेछ। खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार छन्।
बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन्। परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ।
खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ। खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ।

























