खोटाङ, चैत्र ३ । खोटाङका बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित आन्दोलित भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न किसानहरुले कृषि औजार सहित र्याली प्रदर्शन गरेका हुन्।
‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासहित उनिहरुले नगर परिक्रमा गरेका थिए।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध र्याली त्रिवेणी चोक हुँदै नगरपालिका पुगेको थियो।
र्यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए।
गत फागुन १९ गते दिक्तेलमा भएको बाँदर पीडित किसानको भेलाले नगरपालिलाई ज्ञापनपत्र दिने निर्णय गरेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।
किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारे पनि हालसम्म नियन्त्रणको भरपर्दो विधि ननिकालिएपछि उनिहरु पुनः आन्दोलित भएका हुन्। रासस


























