चैत्र ३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सोमबारदेखि सुरु हुँदैछ।
अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत सोमबार स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिइने सरकारी अधिकारीले बताएका छन्।
अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको समाचार संस्था एपीले उल्लेख गरेको छ। सियाटलमा रहेको वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण हुनेछ।
कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन्। खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन्।
बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन्। परीक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ।
खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ। खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ।
परीक्षण गर्न लागिएको खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन्। अहिले परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ।

























