काठामाडौं, चैत्र २ । सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयम उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको बजार अनुगमनमा निस्केकाहुन्। फागुन अन्तिम हप्तादेखि नै काठमाण्डौको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्न थालिएको छ।
कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको खबर आएपछि अनुगमनलाई तीव्र बनाइएको मन्त्री भट्टले बताए।
काठमाण्डौमा भने नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको छ। उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका कारण ग्यास चाप देखिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताए।
‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उन भने, ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ।’
ग्यासको आयात बढाएका छौैँ: निगम
नेपाल आयल निगमले बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ। अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए।
उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए। ‘हामीले उद्योगीलाई माग अनुसारको ग्यास ल्याउन भनेका छौँ ’, उनले भने, ‘उद्योगीको मागअनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ।’
नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह
अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न आग्रह गरेको छ। निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो।
एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ। रासस

























