– मीरा रानाभाट
एक समय थियो, तिमी को हो, के हो मलाई केही पनि थाहा थिएन। परिचय अरूबाटै पाएको हो। सुरूमा त खास वास्ता लागेन र वास्ता गरिनँ पनि। साथीको पनि साथी। साथीले मेरो आनीबानी थाहा पाएको भएर होला, मलाई सिधै भन्न अलि अप्ठ्यारो माने। तर, भने तिम्रो बारेमा। सायद तिमीलाई पनि मेरो बारेमा केही कुरा थाहा भएको हुँदो हो। साथीको चाहना भनौँ या के भनौँ हामीलाई कुरा गराउन उसलाई कहाँबाट दिमागमा आएछ खै? एकदिन घुमाउरो पाराले उसले तिम्रो बारेमा भन्यो, के सोचेर हो थाहा छैन। सायद नियतीले नै जुराएर पठाएको थियो होला र त…..।
फेसबुकमा आएको साथी बन्ने अनुरोधलाई मैले चासो दिइनँ। तर, पछि साथीले ‘कुरा गर केही फरक पर्दैन, बोल्दैमा के हुन्छ र?’ भनेपछि चाहिँ ठीक छ नि त भनेर मैले स्वीकार गरेँ। हाम्रो त्यो पहिलो कुराकानी आज सम्झिँदा अचम्म लाग्छ, अनि हाँसो पनि। निकै साधारण तरिकाले हामीले कुराकानी गर्यौँ। त्यसपछि फोन नम्बर माग्ने तरिका पनि सम्झन लायक नै छ। तिमीलाई यी र यस्ता कुराहरू याद छ या छैन थाहा भएन, तर मलाई हरेक कुरा मानसपटलमा ताजै छ।
दैनिकजसो कुराकानी हुन थाल्यो, निकै रमाइलो र व्यवहारिक। तिमी ज्ञानी थियौ, समझदार थियौ अनि बाठो पनि। लामो समय हाम्रो भेटघाट भएको थिएन। हामीले एकअर्कालाई देखेका थिएनौँ। म घरमा थिएँ, तिमीले कहिले फर्किने भनेर सोध्थ्यौ। मैले झुठ बोलिरहेको थिएँ, ‘अझै केहीदिन आउँदिनँ’ भनेर। तर म त्यही दिन आएँ। अनि तिमीलाई भन्दै नभनी घुम्दै फिर्दै तिम्रो अगाडि पुगेँ, किनकी मलाई सजिलो थियो तिमीलाई झुक्याउन।
मेरो साथी तिम्रो पनि साथी थिए। त्यसैले हामी घुम्दै तिम्रो अगाडि पुग्यौँ । क्या हेर्न लायक थियो तिम्रो अनुहार। जब घरमै छु भनेको मान्छेलाई अगाडि देखेका थियौ। तिमीलाई झुठ कत्ति मन नपर्ने, मलाई डर पनि लाग्यो तिमी साँच्चै रिसायौ कि भनेर। तर, तिमीले त्यो कुरालाई त्यति ठूलो बनाएनौ। मलाई खुसी लाग्यो तिमीले मेरो ठट्टा गर्ने बच्चपना बानी पनि स्वीकार गर्यौ।
यसरी नै धेरै दिन बिते, महिना पनि बिते। तिम्रो सरल बानीले गर्दा तिमीले मलाई र मेरो आनीबानीलाई पनि सहजै बुझ्यौ। तिम्रो त्यही सरल आनीबानी र साधारण जीवनशैली नै मेरा लागि मन लोभ्याउने बाटो थियो। धेरै फरक थियौ अरू भन्दा। चित्त नबुझेको कुरा मनमा नराखी भनिहाल्ने। अनि तिमी यो गर्न सक्छौ भने गर, हरेश खानु हुँदैन भनेर मान्छेलाई सम्झाउने तरिका र शब्द पनि साह्रै मज्जाका।
तिमी साँच्चै अनौठा थियौ। यस्तो लाग्छ संसारका निर्दयीहरूको पंक्तिमा तिमी सबैभन्दा अगाडि छौ। सायद समयले दोहोरो खेल खेल्यो, केही मैले बुझिनँ र केही तिमीले पनि। हाकाहाकी निष्ठुरी भन्न पनि नमिल्ला तिम्रो स्वभावलाई। तर, जे छ अरूभन्दा फरक चाहिँ छ। जिन्दगीको गोरेटोमा अनेक किसिमका मान्छेहरू फेला पर्छन्, कोही समयानुसार परिवर्तन हुन सक्छन् भने केही आफूलाई बदल्नै चाहँदैनन्।
सबैले मलाई कठोर, घमण्डी, के–के भने के–के। तर मेरा ती सबै आनीबानी परिवर्तन गराउने एक हस्ती हौ तिमी। मेरो सुनसान दुनियाँलाई हराभरा भरिएको बगैंचाजस्तो बनाइदिन ठूलो देन छ तिम्रो। सायद जिन्दगीले गतिलै चोट दिएको थियो र त झट्टै कसैलाई विश्वास गर्न मन लाग्दैन थियो, तर तिम्रो मायालु बानी र मन बुझ्न सक्ने स्वभावले मलाई हराइदियो। मरूभूमिमा परेजस्तो भएको मेरो मनलाई मैले कतै घुम्न गएको छ भनेँ। अनि तिमी पनि कम्ति जिद्धी चाहिँ थिएनौ। धेरै दिनपछि पनि ‘मन फर्कियो त?’ भनेर जिस्काइरहन्थ्यौ। यस्तै–यस्तै प्यारो बानीले मेरो मन साँच्चिकै फर्कियो। आँटिलो थियौ, हार मान्ने बानी थिएन, मानेनौ पनि। मलाई पनि अनौठो लाग्यो म त्यसरी नबोल्ने मान्छे झन् नचिनेको मान्छेसँग। तर अकस्मात भएको कुराकनीलाई मैले प्राथमिकता दिन थालेछु।
हुन त केही पनि सधैँ एकैनासको रहँदैन। समय या मान्छे, आखिर आफूलाई बदल्नै पर्ने रहेछ। मेरो चञ्चले बानीदेखि रिसाहा स्वभावसम्म बदल्न सक्ने त्यो खुबीलाई मानेँ। मेरो जीवनको केही महत्त्वपूर्ण कुरामा तिमीले गरेको निर्णयलाई पनि मेरो कदर छ। माया र ख्याल यति गर्यौ कि मैले आफूलाई बिर्सिएँ, अनि आफूमा पनि तिमीलाई पाउन थालेँ। खाना, खाजादेखि मेरो निन्द्रासम्मको ख्याल हुन थाल्यो तिमीलाई। अनि आफ्नै बेवास्ता गर्न थालेँ बिस्तारै मैले। समय आफ्नो गतिमा दौडिँदै थियो। तिमीले मलाई जिन्दगीका केही नयाँ पाठ र भोगाई सिकाउँदै गयौ। अनि आज्ञाकारी बालक झैं मान्न थालेँ मैले।
जिन्दगीभर यसरी नै साथ र सहयोग पाइरहूँ। मैले अन्जानमा केही बिराउन खोजेँ भने पनि तिमी दरिलो पथप्रदर्शक बनिरहनू। हरेक जुनी पाइएला, नपाइएला। तर अहिले पाएको यो जुनीमा म त्यो साथ गुमाउन चाहन्नँ। तिमीसँग पहिलो पटक भेट भएको दिनदेखि आजसम्म जीवनका धेरै गहकिला उतारचढाव देखेको छु, भोगेको छु। कुनै दिन रिसाए पनि या त झगडा गरे पनि सम्बन्ध सकिँदैन भन्ने गतिलो पाठ सिकायौ तिमीले। यस्तै समझदार मान्छे सबै हुन्थे दुनियाँमा भने कोही कसैको सम्बन्ध अधुरो रहँदैनथ्यो होला।
हार्दिक नमन ती आमालाई, जसले यो धर्तीमा यति मायालु मनलाई जन्म दिनुभयो। सकरात्मक सोच र स्वच्छ भावना सबैको हुँदैन। म चाहन्छु तिमी सदाबहार यस्तै रही राख है! सम्बन्ध निभाउन र आफ्नो दायित्व पूरा गर्न निर्दयी मन भएकाहरूले तिमीबाट सिकून्। केही बानी मैले पनि तिमीबाट नै सिक्न पाएँ। साँच्चै कति निश्चल छ तिम्रो मन। केही बानी सुधार्नुपर्ने छ, त्यो तिमीलाई भनिरहेको पनि हो र म चाहन्छु तिमीमा ती कुरा परिवर्तन होस्। मैले सम्बोधन गरेका ‘ती कुरा’ तिमीले बुझेका छौ, त्यसैले यहाँ व्यक्त गर्न चाहिनँ।
तिम्रो स्वभाव अनि मनको कुरा गर्दागर्दै पहिलेदेखि अहिलेसम्मका घटना र परिघटना सबै लेख्न सकिनँ। बीचमा भएका उतारचढावका कुरा पनि समेटिनँ मैले। अन्त्यमा तिम्रो मिहिनेती स्वभावले नै चाहना, सपना सबै पुरा होऊन्। सधैँ तिम्रो नाममा आफ्नो मान्छे हुनुको गर्व गर्न पाइयोस्, उज्वल भविष्यको अनगिन्ति शुभकामना।
क्रमशः …
(लेखक चितवनस्थित कालिका एफएममा समाचार शाखामा कार्यरत छिन्।)


























