चितवन, फागुन ३० । भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना भाइरसको संक्रमणका बारेमा जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाउनेको पहिचान भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो। उक्त विज्ञप्तीलाई बङ्ग्याएर अफवाह फैलाउनेको पहिचान भइसकेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।
चिनिया राजदुतको प्रोफाइल तस्विर राखेर शलिना गुरुङको नामबाट फेक आइडी बनाएर अफवाह फैलाइएको उनले बताए। ‘सूचना तोडमोड गर्नेले आफ्नो पोष्ट हटाइसकेको छ, उनले भने’,पक्राउ गरेर साइबर क्राइम व्यूरोमा पठाउँछौं ।’

भरतपुर अस्पतालको विज्ञप्तीमा कोरोनाका बारेमा सही सूचना दिनका लागि पोस्टर, पम्पलेट तथा फ्लेक्स प्रिन्ट तयार पारिएको साथै ५ शैयाको आइसोलेसन वार्डलाई बढाएर १९ शैया बनाइएको उल्लेख थियो ।
त्यस्तै विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो। विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ।’

























