चीन, फागुन २९ । चीनले आफ्नो भूभागबाट सगरमाथा आरोहण गर्न प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरस फैलिँदै गएपछि चीनले यस्तो प्रतिबन्ध लगाएको हो।
एबीसी न्युजका अनुसार, उत्तरी मोहडाबाट सगरमाथा चढ्नका लागि अनुमति दिने चाइना तिब्बत माउन्टेनियरिङ एसोसिएसनले प्रतिबन्धको पुष्टि गरेको छ।
एल्पेनग्लो एक्सपिडिसनका सीईओ एड्रियन ब्यालिंगरले चीनको कदम सही भएको बताए किनकि सगरमाथाको आधारशिविरमा कोरोना फैलिएमा कसैलाई पनि बचाउन सकिन्न।
सगरमाथा चढ्दा सास फुल्ने र फोक्सोमा दबाब पर्ने एड्रियनको भनाइ छ। कसैलाई कोरोनाको संक्रमण भएमा आरोहण गर्नु मर्नै जानु जस्तो हुने उनले बताए।
चीनले आरोहणमा प्रतिबनध लगाएपनि नेपालले चाहिँ अहिलेसम्म यस्तो प्रतिबन्त्र लगाइसकेको छैन।
यस सीजनमा जम्मा १५० जनाले सगरमाथा चढ्नका लागि अनुमति मागेका छन्। तर कोरोनाभाइरस लगातार फैलिएकाले यस वर्षमा आरोहणै नहुने सम्भावना पनि छ। एजेन्सी

























