फागुन २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको कोरोना भाइरसबाट विश्वभर सवा एक लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। विश्वभरीका विभिन्न तथ्यांक राख्ने ‘वर्ल्ड मिटर’ का अनुसार बिहीबारसम्म विश्वका विभिन्न मुलुकहरूमा कोराना भाइरसको संक्रमण एक लाख २६ हजार ४८३ संक्रमति भएका छन्।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म विश्वभरि चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ। कोरोनाको संक्रमणबाट बिहीबारमात्रै २० जनाले ज्यान गुमाएका छन्।
वर्ल्ड मिटरका अनुसार बिहीबार कोरोना फैलिएका मुलुकहरूमा २९४ नयाँ संक्रमति फेला परेका छन्। उसले बिहीबारसम्म कुल संक्रमितमध्ये ६८ हजार ३१४ उपचारपछि सञ्चो भएर घर फर्किएको जनाएको छ।
चीनका संक्रमित ८० हजार ७९६ मध्ये तीन हजार १६९ को मत्यु भइसकेको छ। चीनमा ६२ हजार ८०९ जना संक्रमित उपचारपछि निको भएर घर फर्काइएका छन्। अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये चार हजार २५७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यस्तै इटलीमा संक्रमण देखिएका कुल १२ हजार ४६२ मध्ये ८२७ को मृत्यु भइसकेको छ। संक्रमितमध्ये एक हजार ४५ जना उपचारपछि घर फर्केका छन् भने १० हजार ५९० जनाको उपचार जारी छ। उपचाररतमध्ये एक हजार २८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
महामारी फैलिएको इरानमा कोरोना भाइरस संक्रमित नौ हजार मानिसहरू फेला परेका छन्। जसमध्ये ३५४ जनाको मृत्यु भइसकेको छ भने दुई हजार ९५९ जना उपचारपछि घर फर्काइएका छन्।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट ६६ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा बिहीबारमात्रै छ जना संक्रमितको मृत्यु भएको हो। त्यहाँ संक्रमितमध्ये सात हजार ४७० जनाको उपचार भइरहेको छ भने ३३३ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियामा बिहीबार ११४ जना नयाँ संक्रमित फेला परेका बताइएको छ।
यस्तै अमेरिकामा फेला परेका कुल एक हजार ३३६ संक्रमित मध्ये ३८ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा बिहीबारमात्रै ३५ जना नयाँ संक्रमित फेला परेका छन्।
छिमेकी मुलुक भारतमा बिहीबारसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। वर्ल्ड मिटरका अनुसार भारतमा बिहीबारमात्रै ११ जना नयाँ संक्रमित फेला परेका छन्। भारतमा संक्रमित पुष्टि भएका मध्ये चार जनालाई उपचारपछि घर पठाइएको छ भने ६९ जनाको उपचार भइरहेको छ।


























