हेटौंडा, फागुन २८ । सरकारले सतप्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिए पनि मकवानपुरमा अझै २६ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको पाइएको छ।
जिल्लामा दोस्रोे चरणको खोप अभियान सञ्चालनको तयारीमा रहेको स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षको तथ्याङ्क देखाउँदै भौगोलिक बिकटता र सचेतनाको अभाबका कारण २६ प्रतिशत बालबालिका पूर्णखोपबिहीन भएको बताएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरमा ७४ प्रतिशत बालबालिकाले दादुरा-रुवेलाको खोप लगाए पनि २६ प्रतिशतले लगाएका छैनन्।
मकवापुरको जस्तै तथ्याङ्क देशभरको रहँदा सरकारले २०१९ सम्म दादुरा-रुवेला नियन्त्रित मुलुक घोषणा गर्ने भने पनि अभियान सफल नभएपछि सन् २०२३ सम्म पुर्याएको जानकारी दिए।
जिल्लास्तरीय खोप समन्वय समितिले सञ्चालन गर्ने अभियान जिल्लामा दुई चरण चल्ने बताइएको छ।
१० स्थानीय तह रहेको मकवानपुरमा पहिलो चरणमा चैत्र १ गतेबाट बकैया, राक्सिराङ, कैलाश, बागमती र मनहरी गाउँपालिकामा र दोश्रो चरणमा हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिकासहित भिमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकामा सञ्चालन हुने अभियान चैत्र २३ गते सकिने बताइएको छ।
अभियानमा ९ देखि २४ महिना उमेर समुहका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरी ४३ हजार ३०३ जना बालबालिकालाई खोप लगाइने समितिले हेटौंडामा पत्रकार अन्तरक्रिया गर्दै जानकारी दिएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायाका अनुसार बालबालिकालाई खोप लगाउँनका लागि ४४ वटा स्वास्थ्य चौकी र १०२ वटा बडामागरी ५४१ वटा खोपकेन्द्रमार्फत चार हजार ६६२ भाइल खोप लगाइने बताइएको छ। एक भाइल बराबर १० जना बालबालिकालाई खोप दिन मिल्ने छ।
खोपका लागि ५८९ खोप कार्यकर्ता, एक हजार १७८ जना स्वयमसेवकले दिनमा ७३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायले जानकारी दिए।
उनका अनुसार मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिका दादुरा-रुवेला खोपको जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको छ।


























