मुम्बई, फागुन २५। टाइगर श्राफको फिल्म ‘बागी–३’को व्यापारमा कोरोना भाइरसको संक्रमण त्रासका कारण प्रभाव पर्ने डर निर्मातालाई थियो। तर, फिल्मले पहिलो र दोस्रो दिन राम्रो व्यापार गरेको छ।
यो फिल्मले पहिलो दिन शुक्रबार भारतमा १७ करोड ५० लाखको व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ। पहिलो दिनको व्यापारको तुलनामा दोस्रो दिन अझ राम्रो भएको बताइएको छ।
‘कोरोनाको कहरले सबै त्रसित भएको बेला हाम्रो फिल्म हर्न दर्शकलाई कोरोनाले रोकेन। फिल्मले देशभरि उत्साहजनक व्यापार गरेको छ।’ बागी ३ का निर्देशक अहमद खानले सञ्चारकर्मीसँग शनिबार भने।
खानको भनाइमा फिल्मको अग्रिम बुकिङ त्यति राम्रो थिएन। तर, दर्शकले सिनेमा हलको काउन्टरमा आएर टिकट लिएको उनले बताएका छन्।
फिल्म हलमा आएका दर्शक सबै मास्कमा छन्। फिल्म हेर्न हलभरी दर्शक भए पनि उनीहरूले पहिलोको तुलनामा हलमा पपकर्न लगाएको खानेकुरा नखाएको हल सञ्चालकले बताएका छन्। सुरुमा फिल्मले पहिलो दिन २० करोडको व्यापार गर्ने अनुमान वितरकको थियो। तर, कोरोनाको त्रास र अग्रिम बुकिङमा आएको कामीले यो फिल्मको व्यापार बिग्रने आशंका गरिए पनि पहिलो दिनको व्यापारले आफूहरू सन्तुष्ट रहेको निर्माण पक्षको कथन छ।
फिल्मको व्यापारले अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपुर पनि खुसी छन्। यो फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, विजय शर्मा, अंकिता लोखन्डेलगायतको मुख्य भूमिका छ। यस अघि बागी र बागी २ हिट भएपछि बागी ३ निर्माण गरिएको हो। यो फिल्मको एक्सनको दर्शकले प्रशंसा गरेका छन्। एजेन्सी

























