फागुन २४ । बलिउड अभिनेत्रीहरु काजोल, नेहा धुपिया, श्रुति हसनद्वारा अभिनित सर्टफिल्म ‘देवी’लाई चोरीको आरोप लागेको छ। एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले चोरीको आरोप लगाएका हुन्। अभिषेकले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाए।
‘दुई वर्षअघि फिल्मको विद्यार्थी भएका बेला अन्डाकरी प्रोडक्सनले निर्माण गरेको सर्टफिल्म फोर बनाएका थियौं। जहाँ बलात्कार पीडितको सामना अर्का पीडितहरुसँग हुने गर्छ। फिल्म ‘देवी’ पनि हाम्रै कथावस्तुमा आधारित रहेर बनाएको देखिन्छ,’ उनले फेसबुकमा लेखेका छन्।
उनले अर्काको आइडियाले कसैले कसरी आफ्नो भन्नसक्छ भन्दै प्रश्न गरेका छन्। ‘हामी विद्यार्थी भएका बेला बनइएको फिल्ममा पक्कै पनि कमीकमजोरीहरु छन्। तर त्यो हाम्रो आफ्नो कल्पना थियो। अर्काको आइडियालाई कपी करेर कसैले कसरी आफ्नो आइडिया भनेर दावा गर्नसक्छ?,’ अभिषेकको प्रश्न छ।
उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्। देवीलाई प्रियंका बनर्जीले लेखेकी छन् भने निर्देशन पनि उनैले गरेकी छन्।

























