काठमाडौं, फागुन २१ । सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेसँगै मास्क थप उत्पादन हुने भएको छ।
कोरोना भाइरस (कोभिड) १९० को संक्रमण विश्वभर फैलिरहेको बेला मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा उपभोग्य वस्तु सहज रूपमा आपूर्तिको व्यवस्था गर्ने सहित तीन बुँदे निर्णय गरेको थियो।
उक्त निर्णय अनुसार मास्क नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने जिम्मेवारी नेपाल चेम्बरअफ कमर्शले लिएको छ। त्यसका लागि उद्योगी दिपक मल्होत्राको नेतृत्वमा एक उपसमिति गठन गरिएको छ।
‘कति उत्पादन गर्न सकिन्छ अहिले नै भन्न सकिँदैन। एक हप्ता भित्रमा बजारमा माक्स पठाउने गरी काम भइरहेको छ,’ चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने।
उनका अनुसार माक्समा कालो बजारी हुन नदिन चेम्बरका सदस्यले ठाउँ–ठाउँ स्टल राख्नेछन्।


























