काठमाडौं, फागुन २१ । आवश्यक संख्यामा सांसदको उपस्थिति नहुँदा पछिल्लो साता मात्रै प्रतिनिधिसभाको चारवटा बैठक स्थगित भएका छन्। सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेपछि बाध्य भएर स्थगित गर्नुपरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘सांसदहरू आउँदै नआएका त होइनन्,’ उनले भने, ‘तर, आएर पनि बैठकमा नबसी हाजिर गरेर मात्रै फर्किने समस्याले गर्दा बैठक चलाउनै गाह्रो भएको छ।’
संसद् सचिवालयको अभिलेखमा भने फागुन १३ देखि १९ गतेसम्म सञ्चालन भएका चार बैठकमा एक सय ४४ देखि एक सय ८१ जनासम्मको हाजिरी देखिन्छ। प्रतिनिधिसभामा दुई सय ७५ जना सांसद छन्। गणपूरक संख्याका लागि एक चौथाइ अर्थात् ६९ जनाको उपस्थिति चाहिन्छ। हाजिरी गरेर भत्ता मात्रै बुझेर फर्किने समस्याले गर्दा हाजिरीमा उपस्थिति राम्रै देखिए पनि बैठकमा सहभागी कम हुने गरेको सभामुख सापकोटाले बताए।
सांसदले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ। सचिवालयका अनुसार फागुन १३ गतेको प्रतिनिधिसभाको बैठकमा एकसय ८१ जनाले हाजिर गरेका छन्। तर त्यस दिन बैठकमा गणपूरक संख्या यकिन गर्न घण्टी बजाउँदा ५८ जना मात्र सांसद उपस्थित भए पनि २३ जना उपस्थित भएनन्।
बैठकमा आएर केही बेर बस्ने र हाजिर गरेर बाहिरिने प्रवृत्तिले कानुन निर्माण प्रभावित हुँदै आएको छ। विधेयकमाथि छलफल गर्नु र पारित गराउनु सांसदहरूको दायित्व हो। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ। चालू संसद् अधिवेशन सञ्चालन भएको अढाइ महिना बिते पनि संसद्ले एउटा पनि विधेयकलाई अन्तिम रूप दिन सकेको छैन।
हाल सचिवालयमा दर्ता भई प्रतिनिधिसभामा विचाराधीन रहेका ११ वटा विधेयक सांसदहरूलाई वितरण गरिएको छ। प्रतिनिधिसभाका समितिमा ५ वटा विधेयक विचाराधीन छन्। गाँजा खेतीसम्बन्धी विधेयक सोमबार दर्ता भएको छ। राष्ट्रिय सभा तथा त्यसअन्तर्गतका समितिमा २१ वटा विधेयक विचाराधीन छन्।


























