बेइजिङ, फागुन २० । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मंगलबारसम्ममा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको छ। गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको भाइरसको सङ्क्रमण हाल ७६ भन्दा बढी देशमा फैलिएको छ।
यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ। यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ।
कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। पछिल्लो तथ्याङ्कसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको मन्त्रालयले बताएको छ।
प्राप्त समाचार अनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो।
इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए।
सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी छ। यही बीचमा इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाइलगायत रोकथामका अन्य उपायलाई अबलम्बन गर्न आग्रह गरेका छन्र्नु। ‘सबै नागरिकले रोकथामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ,’ उनले भने। (रासस/एएफपी)


























