काठमाडाैं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गाैला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ। सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले आज विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको जानकारी गराएका हुन्।
साथै विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षणसमेत गरिएको उनले बताए। मिर्गाैला प्रत्यारोपणअघि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणका क्रम भने जारी रहेकाे उनले बताए। ‘हाल प्रधानमन्त्री ओलीकाे स्वास्थ्य स्थिति राम्रो छ र उहाँ विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ,’ उनले भने। दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ।
डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ। यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि प्रधानमन्त्रीको स्वस्थ्यस्थितिबारे जानकारी लिएका छन्।
मंगलबार साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन्। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि साेमबार नै शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
मिर्गाैला प्रत्याराेपण गर्न त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्य लाभकाे कामना गर्दै देशका विभिन्न सहरहरुमा मंगलबार साँझ दीप बालेका छन्।


























