काठमाडौं, फागुन १९ । चलचित्रको पर्दामा अनुहार र अभिनय बिक्छ। अनुहार दुइ दिन बिक्छ, अभिनय लामो समयसम्म टिक्छ। यसैले, स्टारडम र अभिनय एकसाथ पाउने कलाकार त भाग्यमानी नै हुन्। तर, लामो समयसम्म टिक्नका लागि त अभिनय नै एक मात्र विकल्प हो।
नायिका सुरक्षा पन्त पछिल्लो समयकी एक त्यस्ती कलाकार हुन्, जसको अभिनयले सबैको मन जितिरहेको छ। चलचित्र ‘आमा’मा अभिनय गरेपछि त उनले अभिनयमा छलाङ्ग नै मारेकी छिन् भन्दा फरक नपर्ला।
सुरक्षाले पाएको भूमिका धेरै कलाकारका लागि रहर हुन सक्छ। तर, पात्रलाई जीवन्तता दिन त्यती सजिलो छैन।
उसो त, सुरक्षाको स्टारडम बलियो छैन। उनलाई जती पनि दर्शकले चिन्छन्, अभिनयको माध्यमबाट नै चिन्छन्। उनले चलचित्र ‘चंगाचेट’मा गरेको अभिनयले दर्शकलाई निराश बनाएको थियो। तर, उनी ‘आमा’ मार्फत फेरि एकपटक शक्तिशाली कलाकारको रुपमा उदाएकी छिन्।
सुरक्षा, आफैले पनि यो चलचित्रमा अभिनय गरिसकेपछि आफूलाई अब कस्तो चलचित्रमा काम गर्ने चुनौती छ भनेकी छिन्। उनको यो भनाइले पनि के वुझ्न सकिन्छ भने, उनलाई अब कमजोर भूमिकामा काम गर्ने छुट छैन। सायद, एउटा कलाकारले दर्शकबाट पाएको माया र दबाब हो यो।
चलचित्र ‘आमा’ दोश्रो सातासम्म आइपुग्दा लगानी सुरक्षित गरेर नाफा उन्मुख छ। सुरक्षाका लागि यो सुखद कुरा हो। अभिनयकै कारण दर्शकको मन जितेका थोरै नायिकामा सुरक्षा पनि पर्छिन्। तर, उनको आगामी चलचित्र रोजाई सहज भने छैन।

























